बरहथवाकी मेयर उम्मेद्वार कटुवाललाई जीतेको भन्दै बधाईको ओइरो, ‘शुभेच्छा’, ‘चाकडी’ की ‘हुर्मत’ !

बरहथवा – बरहथवा नगरपालिकामा नेकपा एमालेबाट मेयर पदकी प्रत्यासी कल्पना कुमारी कटुवाललाई शुक्रबार साँझबाट विजयी भएको भन्दै बधाई र शुभकामनाको ओईरो लाग्न थालेको छ ।

फेसबुक लगायत विभिन्न सामाजिक संजालमा कटुवालले जितेको भन्दै बधाई र शुभकामना टक्र्याउनेमा अधिकांश एमालेकै कार्यकर्ता थिए । यसअघि नै अबिर र माला लगाएर जुलुसमा हिँडिरहेको कटुवालको फोटो फोटो राखेर शुक्रबार साँझदेखि राती यो समाचार तयार पार्दासम्म बधाई दिनका लागि होडबाजी नै चलेको देखिन्छ ।

स्थानीय तह निर्वाचन अन्तर्गत गत वैशाख ३० गते शुक्रबार बरहथवाका सबै मतदान केन्द्रमा र वडा नम्बर १७ मा भने पुनः मतदान गर्नुपर्ने निर्वाचन आयोगको निर्णय अनुसार गत मंगलबार पुनः मतदान भएको थियो । मंगलबार रातीदेखि सूरु भएको मतगणना अन्तर्गत शुक्रबार साँझसम्म बरहथवा नगरपालिकाका वडा नम्बर १, २, ३, ४, १४, १५, १६, १७ र १८ मा खसेका मतको मात्र गणना गरिएको छ । १८ वटा वडा रहेको बरहथवामा अझै ९ वटा वडाको मत गन्न बाँकी नै छ ।

जिल्ला निर्वाचन कार्यालय मलंगवाका अनुसार बरहथवा नगरपालिकामा ३२ हजार १०० मत खसेको छ । हालसम्म १४ हजार ९७६ मत मात्र गणना भएको छ । तर १७ हजार १२४ मत गन्न बाँकी छँदै एमाले नेता कार्यकर्ता एवं अन्य केही व्यक्तित्वहरुले सामाजिक संजालमा कटुवाललाई विजयी भन्दै हार्दिक बधाईका साथै कार्यकाल सफलता लगायत यावत शुभकामना दिईरहेका छन् ।

शुक्रबार साँझ एमाले नेतृ एवं लालबन्दी नगरपालिकाकी निवर्तमान उपमेयर शान्ती लामाले आफ्नो फेसबुका वालमा कटुवालको विभिन्न फोटोहरु राख्दै लेखेकी छिन्, ‘नेकपा (एमाले) केन्द्रीय सदस्य दिदी कल्पना कटुवालज्यु बरहथवा नगरपालिका सर्लाहीको मेयर पदमा निर्वाचित हुनुभएकोछ !🌺🌺२०७४ मा असफल भएपनि महिला सक्षम नेतृत्व बहन गर्न सक्ने देखिएमा जनताले विश्वास गर्ने नेतृत्व सुम्पिने प्रमाणित बरहथवा नगरबासीले प्रमाणित गरिदिएको छ ! बरहथवा नगरबासीलाई धेरै धेरै धन्यवाद ! र दिदीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना !’

त्यस्तै भूमि अधिकारको क्षेत्रमा समेत सकृय एमाले कार्यकर्ता सरस्वती सुब्बाले पनि कटुवाललाई बधाई र शुभकामना दिईसकेकी छिन् । उनले आफ्नो फेसबुक वालमा कटुवालको फोटोहरु राखेर पोष्ट्याउँदै ‘नेकपा एमाले केन्द्रीय सदस्य,कल्पना कटुवाल बरहथवा नगरपालिका सर्लाही को मेयर पदमा निर्वाचित हुनु भएकोमा हार्दिक हार्दिक बधाई तथा सफल कार्यकालको हार्दिक शुभकामना दिदि ।’ भनेकी छिन् । बरहथवा नगरपालिका अन्तर्गत स्वास्थ्य केन्द्रमा कार्यरत चन्द्रकला रायमाझी, एमाले कार्यकर्ता एवं विद्यार्थी नेतृ अन्जना शिवाकोटी, राधाकृष्ण प्याकुरेल लगायत दर्जनौं एमाले नेता कार्यकर्ता सहित अन्य विभिन्न व्यक्तित्वहरुले कटुवाललाई विजयी भन्दै बधाई र शुभकामना दिईसकेका छन् ।

अरु त त्यस्तै हो, कटुवाललाई बधाई र शुभकामनाको ओईरो लागेपछि सर्लाहीका पत्रकारहरुमा समेत खैलाबैला मच्चियो । बरहथवा भन्दा बाहिर घर भएका र कार्यस्थल पनि बाहिर भएका सर्लाहीका पत्रकारहरुलाई आफू काम गर्ने संचारमाध्यमको डेस्कबाट ‘खै त बरहथवामा रिजल्ट आईसकेछ, तुरुन्त अपडेट गराई हाल्नु’ भन्दै फोन समेत आयो । अनि सर्लाहीका संचारकर्मीलाई स्थानीय तह निर्वाचन अन्तर्गत हुने उम्मेद्वारी दर्ता, फिर्ता, मतदान र मतगणनाको तथ्यांक सबैलाई एकआपसमा जानकारी गराउने उद्धेश्यले खोलिएको फेसबुक म्यासेञ्जर ग्रुपमा पत्रकारहरु बीच सोधखोज समेत भएको थियो ।

हालसम्म सार्वजनिक मतपरिणाम अनुसार कटुवालको ५ हजार ५४५, पछ्याईरहेका नेकपा माओवादी केन्द्रका प्रत्यासी निवर्तमान मेयर देवानन्द महतोको ३ हजार ७५३, कांग्रेसका प्रत्यासी बिगु प्रसाद चौधरीको ३ हजार १७४ लगायत मत रहेको छ । अझै बाँकी १७ हजार १२४ मतगणनाबाट कसले बरहथवा नगरपालिकाको मेयरमा बाजी मार्ने हो भन्ने कुरा मतदाताले मत खसालेको ढ्वाङ भित्रै लुकिरहेको कुरामा दुईमत छैन । तर एमाले नेता कार्यकर्ताले भने ह्वारह्वारती कटुवाललाई विजयी भन्दै बधाई र शुभकामनाको ओइरो लगाईरहेका छन् । ‘यसरी मतपरिणामले जीतको सुनिश्चितता नगरिकनै बधाई र शुभकामनाको ओईरो लगाउनु भनेको शुभेच्छा नभई कि त चाकडी, कि त हुर्मत लिने बाहेक केही हैन’, एक राजनैतिक कार्यकर्ता भन्छन्, ‘यदि परिणाम कटुवालकै पक्षमा आयो भने त ठिकै होला, विपरित आयो भने बधाई र शुभकामना दिनेले त पोष्ट हटाउलान तर अनावश्यक रुपमा अग्रिम बधाई र शुभकामनाको ओईरो खान बाध्य भएकी उनको अवस्था के होला ?’

हैन हजुरलाई त सामाजिक संजालमा विजयी भएको भन्दै बधाई र शुभकामनाको ओइरो लागिसकेको छ त भन्ने यस उज्यालो अभियानकर्मीको प्रश्नमा कटुवालले समेत आश्चर्यभाव प्रकट गर्दै भनिन्, ‘त्यहि त भन्या, किन र केका लागि यति हतारका साथ बधाई र शुभकामना भनिएको हो, म आफै अचम्ममा परेको छु, कसलाई के भनु की नभनु रनभुल्लमा परेकी छु, हुनत रिजल्ट फरक नआउला तथापी यति हतारमा यसरी भाईरल गराउनु उपयुक्त हैन ।’