काठमाडौंका राई ईन्जेक्सन र ट्याब्लेट सहित कबिलासीमा पक्राउ

लागूऔषधको रुपमा प्रयोग हुने विभिन्न औषधी सहित पक्राउ परेका सुनिल राई । (तस्बिर सौजन्य : सशस्त्र प्रहरी)

कबिलासी – सशस्त्र प्रहरी बल १० नम्बर गण कबिलासीको टोलीले लागूऔषधको रुपमा प्रयोग हुने ट्याब्लेट र ईन्जेक्सन सहित शुक्रबार साँझ एक युवालाई पक्राउ गरेको छ ।

गणको चेकपोष्टमा खटिएको सशस्त्र प्रहरी हबल्दार श्रीप्रसाद डगौरा नेतृत्वको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–६ निवासी २१ वर्षीय सुनिल राईलाई लागूऔषध सहित नियन्त्रणमा लिईएको जनाएको छ । मलंगवाबाट पैदल नवपुरतर्फ आउँदै गरेका राईलाई चेकजाँच गर्दा उनको साथबाट ५९८ ट्याब्लेट नाईट्राभेट, ईन्जेक्सन मार्फत लागूऔषधको रुपमा प्रयोग हुने ६ एम्पूल नोर्फिन, ६ एम्पुल फेनार्गन, ३ एम्पुल डाईजेपाम र ३ एम्पुल डाईजेल्याब बरामद् भएको सशस्त्र प्रहरी बल १० नम्बर गणका प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापा मगरले जानकारी दिए । पक्राउ परेका राई र बरामद् लागूऔषध आवश्यक कार्बाहीका लागि ईलाका प्रहरी कार्यालय हरिपुरको जिम्मा लगाईएको सशस्त्र प्रहरीले जनाएको छ ।