सर्लाहीमा आज पनि शितलहर सहितकाे चिसो

चिसो छल्न आगो बालेर तापी रहेका सर्लाही बागमतीका स्थानीय । (तस्बिर : घनश्याम बलम्पाकी)

हरिवन – सर्लाहीमा आज (विहिबार) पनि कठ्यांग्रिदो चिसो छ । चिसो स्याँठसहित शितलहर चलिरहेका कारण सर्वसाधारणले कठ्यांग्रिदो चिसो महसुस गरिरहेका छन् ।

सर्लाहीमा बिगत ५ दिनदेखि घाम लागेको छैन् । रातदिन हुस्सु लागेर चिसो स्याँठ र शितलहर चलिरहेका कारण मानिसहरुलाई घर बाहिर निस्कन समेत मुस्किल परिरहेको छ । चिसो छल्न जिल्लावासीले आ-आफ्नो घर तथा चौक बजारमा आगो बालेर तापिरहेका छन् । घाम नलागेर एकोहोर कठ्यांग्रिदो चिसो मात्रै भइरहँदा गरिब तथा निमुखा बर्ग धेरै प्रभावित भइरहेका छन् ।

चिसोले स-साना बालबालिका, वृद्धवृद्धा र शारीरिक रुपमा कमजोर रहेकाहरुलाई धेरै नै गाह्रो पारिरहेको छ । चिसोका कारण अहिले घरैपिच्छेजसो रुघाखोकी लाग्ने, घाँटी, टाउको र छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण भएका बिरामी बढेका छन् । चिकित्सकहरुले यस्तोयाममा सकेसम्म घरभित्रै बस्न, बाहिर निस्कदा शरीरमा चिसो नपस्ने गरी न्यानो कपडा लगाउन, ताता र झोलिला खानेकुरा बढी खान र चिसोजन्य संक्रमण देखिए स्वास्थ्य संस्था गएर उपचार गराउन सुझाव दिएका छन् ।