आगो ताप्ने क्रममा जलेर वृद्दाकाे मृत्यु

प्रतिकात्मक तस्बिर

गाेडैता – सर्लाहीको गोडैतामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ ।

चिसाेबाट वचन आगो तापिरहेकाे अवस्थामा गोडैता नगरपालिका-११, निवासी देवकली देवीको जलेर मृत्यु भएको हो । ७५ वर्षीया देवकली बुधबार साँझ आफ्नै घरमा आगो तापिरहँदा उनको शरीरमा आगो सल्किएको थियो । साँझ साँढे ७ बजेतिर एक्कासी सल्किएको आगोले शरीरको अधिकांश भाग जलेर उनि गम्भीर घाइते भएकी थिईन् ।

उपचारका क्रममा बुधबार राती साँढे ११ बजे जिल्ला अस्पताल मलंगवामा उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको प्रहरीले जनाएको छ । जाडो छल्न अहिले जिल्लावासीले आगो बालेर तापिरहेका छन् । त्यसरी आगो ताप्दा सावधानी नअपनाए शरीरमा आगो सल्किएर यस्ता दुःखद घटना हुने भएकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ । केही साताअघि मात्रै सदरमुकाम मलंगवा नगरपालिकाको खुटौनामा पनि आगोले जलेर एक जनाको मृत्यु भएको थियो ।