भोल्टेजका कारण विद्युतीय उपकरण बिग्रदा श्रीपुरबासी हैरान

प्रतिकात्मक तस्बीर ।

बरहथवा – सर्लाहीको बरहथवा नगरपालिका वडा नं. १७ र १८ श्रीपुरका स्थानीयवासी विद्युतीय सामग्री अत्यधिक बिग्रने समस्याले हैरान भएका छन् ।

गाउँलेका अनुसार श्रीपुर गाउँमा रहेको सय केभिएको ट्रान्सफर्मरमा खराबी आउँदा छिनछिनमै बत्ती आउने–जाने समस्या बढेको छ । बिजुली बत्ती गइरहने र आएको समयमा पनि भोल्टेज घटबढ हुने समस्याले बल्ब जल्नुका साथै अन्य उपकरणहरु अत्यधिक बिग्रन थालेको स्थानीयवासी रामइश्वर रायले गुनासो गरेका छन् ।

यसबारेमा नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रमा कयौं पटक गुनासो राख्दा समेत सुनुवाई नभएको श्रीपुरका स्थानीयवासीले बताएका छन् । प्राधिकरणको प्राविधिक आएर हेरुञ्जेल केही समय विद्युत् नियमित भएपनि फेरि उस्तै समस्या आउने गरेको स्थानीयको गुनासो छ ।

अन्य ठाउँहरुमा प्राधिकरणले नयाँ ट्रान्सफर्मर राखेको भएपनि आफूहरुको क्षेत्रमा बिजुली आउँदादेखिकै पुरानो ट्रान्सफर्मर नै रहेको स्थानीयको भनाई छ । नेपाल विद्युत् प्राधिकरणको मलङ्गवा वितरण केन्द्रले भने विद्युत् चुहावट धेरै रहेकाले भोल्टेजको समस्या बढेको जनाएको छ ।

वितरण केन्द्र प्रमुख विनोद कुमार यादवले चुहावटसँगै पहिलेको तुलनामा उपभोक्ता र लोड पनि थपिँदै गइरहेकाले पुरानो ट्रान्सफर्मरले धान्न गाह्रो पर्न थालेको बताए । उनले बिग्रिएका ट्रान्सफर्मरहरु क्रमैसँग फेर्ने काम भइरहेको समेत बताए ।