‘अविवाहित जोडी’ले गरे एउटै हाँगामा झुण्डिएर देहत्याग

कविलासी – सर्लाहीको कविलासी नगरपालिका अन्तर्गत सिर्सिया गाउँका एकजोडी युवायुवती आँपको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका छन् ।

कविलासी नगरपालिका वडा नम्बर ८ सिर्सिया गाउँ निवासी १९ वर्षीय चन्दन पासवान र १७ वर्षीया गनिता कुमारी राम स्थानीय रामचन्द्र साहको बगैंचा स्थित आँपको रुखको एउटै हाँगामा झुण्डिएको अवस्थामा फेला परेका हुन् । पासवान सर्लाही क्याम्पस मलंगवामा स्नातक तह पढ्दै गरेका थिए भने राम भने अनपढ रहेको बताईएको छ ।

‘दुवै पक्षका अभिभावकलाई पनि केही थाहा नभएको भन्ने कुरा आएको छ’, सर्लाही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले उज्यालो अभियानसँग भने, ‘एकै ठाउँमा गएर आत्महत्या गरेको देख्दा पक्कै पनि उनीहरु दुईजनाबीच आपसी प्रेम सम्बन्ध हुन सक्ने देखिएको छ ।’ घटनाबारे विस्तृतमा अनुसन्धान भईरहेको समेत प्रनाउ बुढाथोकीले जानकारी दिए । युवकका साथिहरुले भने अनुसार ती दुईजना बीच प्रेम सम्बन्ध रहेको स्थानीय बासिन्दाले बताएका छन् । उमेर पनि नपुगेको र अभिभावकलाई भन्यो भने विवाह गर्न दिदैनन् भन्ने त्रासले दुवैजनाले एकसाथ आत्महत्या गरेको अनुमान गरिएपनि अभिभावकहरुबीचको कुराकानी सहित एकीन विवरण बाहिर आईसकेको छैन ।

घटनास्थल युवती रामको घरभन्दा ३ सय मिटर तथा युवक पासवानको घरभन्दा डेढ किलोमिटर टाढा रहेको छ । बिहीबार राती १० बजेसम्म युवती राम घरमै देखिएकाले राती १२ बजेतिर उनीहरु दुवैजना सल्लाहमै झुण्डिएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । पासवान आफ्नै गल्बन्दी तथा राम भने आफ्नै सलको पासो लगाएर झुण्डिएकाे अवस्थामा फेला परेका हुन् ।

शुक्रबार बिहान साैच गर्न जाने स्थानीय बासिन्दाले देखेपछि हतार हतार पासो काटेर दुवैजनालाई झारिसकेपछि मात्र खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक बेद बहादुर पौडेल नेतृत्वको टोली घटनास्थल पुगेको थियो ।

अर्को आत्महत्यामा विरोध प्रदर्शन

यसैबीच हरिवन बजार स्थित मालपोत कार्यालय भन्दा पछाडी एक युवती आफ्नै घरको कोठामा सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेपछि माईतीपक्षले घटनाबारे निश्पक्ष अनुसन्धानको माग राखेर प्रदर्शन गरिरहेको छ । महोत्तरी खयरमारा माईती भएकी १९ वर्षीया संचिता गौतम बुधरबार राती झुण्डिएको अवस्थामा फेला परेकी हुन् । गत मंसिर ५ गते मात्र सुशिल दाहालसँग उनको विवाह भएको थियो । माईती पक्षले दाईजो लगायत विभिन्न बहानामा संचितालाई श्रीमान, सासू र ससूराले शारिरिक तथा मानसिक यातना दिने गरेको दाबी गर्दै सबैलाई कानूनी कार्बाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरिरहेका छन् । प्रहरीले जाहेरी दर्ता गर्न नमानेको दाबी सहित उनीहरुले संचिताको शव सुक्रबार दिउँसोसम्म पनि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालबाट बुझेका छैनन् । उनीहरुले विहिबार दिउँसो पोष्टमार्टम पश्चात संचिताको शव हरिवन स्थित ‘केटाको घरमै’ दाहसंस्कार गर्ने भन्दै मलंगवाबाट हरिवन ल्याउन खोजेपछि प्रहरीले रोकेको थियो । उनीहरुले सुक्रबार दिउँसो केहीबेर हरिवन स्थित पूर्व–पश्चिम राजमार्गमा चक्काजाम समेत गरेका छन् ।

प्रहरीले भने घटनाबारे सुक्ष्म अनुसन्धान नै गर्न नदिई हतारमा आरोप प्रत्यारोप लगाईएको भन्दै गुनासो गरेको छ । प्रारम्भिक अनुसन्धानबाट आत्महत्या नै देखिएको हुँदा दुरुत्साहन लगायतमा मुद्धा दर्ता गर्न सकिने भएपनि पीडितपक्षले अनावश्यक आक्रोश व्यक्त गर्ने एवं हुलहुज्जत गर्ने काम गरेको एक प्रहरी अधिकृतले बताए । कानून सम्मत जाहेरी ल्याए दर्ता गर्न कुनै समस्या नरहेको सर्लाही प्रहरीले जनाएको छ । संचिताका घर पक्षका आफन्तले भने आफूहरुले कुनैपनि यातना नदिएको दाबी गरेका छन् ।