ढुंगानाको अध्यक्षतामा अनेरास्ववियुको ३१ सदस्यीय नेतृत्व चयन

लालबन्दी – नेकपा (एमाले) निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सर्लाहीको नयाँ नेतृत्व चयन भएको छ ।

बुधबार राती अबेर लालबन्दीमा सम्पन्न १९ औं जिल्ला अधिवेशनको बन्दशत्रले सर्बसम्मत रुपमा विद्यार्थी नेता प्रज्वल ढुंगानाको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला नेतृत्व चयन गरेको हो । अधिवेशनबाट उपाध्यक्षमा सुभास मिश्र, सचिवमा आशिष बाबु दाहाल, सह–सचिवत्रयमा रोशन दाहाल, सरोज चौधरी र दिलिप बुढाथोकी तथा कोषाध्यक्षमा कविता दास चयन भएका छन् । अनेरास्ववियुका पूर्व सर्लाही अध्यक्ष एवं हाल लालबन्दी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष उज्वल कार्कीको अध्यक्षता रहेको अध्यक्ष मण्डलले सर्बसम्मत रुपमा
हरिवनस्थित चतुर्भुजेश्वर क्याम्पसका स्ववियु सभापतिसमेत रहेका ढुंगानाको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कार्य समिति घोषणा गरेको हो ।

यसअघि निवर्तमान अध्यक्ष समिमबाबु पठानको अध्यक्षता एवं अनेरास्ववियुकी केन्द्रीय अध्यक्ष सुनिता बरालको प्रमुख आतिथ्यतामा अधिवेशन उद्घाटन समारोह सम्पन्न गरिएको थियो । लालबन्दी स्थित मदन आश्रित भवनमा आयोजित उद्घाटन समारोहमा अनेरास्ववियुकी स्थायी कमिटी सदस्य सजिना थापा मगर, प्रदेश दुई अध्यक्ष अन्जना शिवाकोटी, एमाले नेताहरु कल्पना कटुवाल, रञ्जना सरकार, हरि उप्रेती, मानबहादुर खड्का, शान्ती लामा लगायत विभिन्न नेताले सम्बोधन गरेका थिए।

नवनिर्वाचित जिल्ला अध्यक्ष ढुंगानाले विद्यार्थी एवं समग्र शैक्षिक क्षेत्रको हकहितमा अहोरात्र लागिपर्ने प्रतिबद्धता जनाएका छन् ।