सर्लाहीमा पनि पृथ्वी जयन्ती मनाईयो

हरिवन – ३०० औं पृथ्वी जयन्तीका अवसरमा मंगलबार सर्लाहीमा पनि विभिन्न स्थानमा कार्यक्रम गरि मनाईएको छ ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन, सदरमुकाम मलंगवा सहित जिल्लाका विभिन्न स्थानमा र्याली, सभा, अन्तरक्रिया कार्यक्रम गरिएको थियो । हरिवनमा स्थानीय रंजित धमला लगायत युवाहरुको सकृयतामा नयाँरोडदेखि हरिवनसम्म र्याली तथा हरिवन चोकमा सभा आयोजना गरिएको थियो । विभिन्न राजनैतिक दलका नेताहरु समेत सहित सहभागिले राष्ट्रिय एकताका प्रतिक भन्दै पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण गरेका थिए ।

त्यस्तै सदरमुकाम मलंगवामा स्थानीय स्तुति सौम्या हेल्थ केयरका संचालक डाक्टर गुणेश्वर झा तथा श्रीराम हस्पिटलका डाक्टर राम प्रवेश यादवको सकृयतामा मंगलबार बिहान एक कार्यक्रम आयोजना गरिएको छ । जिल्ला समन्वय समितिको तिनबिघे मैदानमा एक कार्यक्रमको आयोजना गरि पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण सहित पृथ्वी नारायण शाहको योगदानको बारेमा विवेचना समेत गरिएको थियो । जिल्लाका अन्य विभिन्न स्थानमा पनि ३०० औं पृथ्वी जयन्तीका अवसरमा कार्यक्रमहरु भएको बताईएको छ ।

२२ से २४ से राज्यलाई जोडेर एउटा सिंगो नेपाल निर्माण गर्ने स्व. पृथ्वी नारायण शाहको योगदानलाई विभिन्न राजनैतिक दलको स्वार्थका कारण नामेट पार्न खोजिएको भन्दै कार्यक्रमका सहभागिहरुले राजनैतिक दलका नेताहरुप्रति आक्रोश समेत व्यक्त गरेका थिए । हरेक वर्ष पुस २७ गते लाई राष्ट्रिय एकता दिवसका रुपमा मनाउनका लागि सार्वजनिक बिदा समेत हुँदै आएकोमा २०६२/०६३ सालको आन्दोलनपछि बनेको सरकारले उक्त बिदा खारेज गर्नुको साथै राष्ट्रिय एकता दिवस समते खारेज गरेको थियो ।