सर्लाहीका थप दुई एसपीसहित सीडीओ कार्यालयका ११ कर्मचारीमा कोरोना संक्रमण

मलंगवा – सर्लाहीमा बुधबार थप दुई जना एसपीसहित १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

जिल्ला अस्पताल मलंगवाको पीसीआर ल्याबमा स्वाब परीक्षण गर्दा सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) भरत खनियाँ, राष्ट्रिय अनुसन्धान विभागका सर्लाही प्रमुख (एसपी) चन्दन झामा समेत कोरोना संक्रमण पुष्टी भएको हो । यस्तै, जिल्ला प्रशासन कार्यालय मलंगवाका दुई जना प्रशासकीय अधिकृतमध्ये दुवै जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

प्रशासकीय अधिकृत रामनरेश राम र राजकुमार थापासहित कार्यालयका ११ जना कर्मचारीमा कोरोना संक्रमण पाइएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले उज्यालो अभियानसँग बताए । उनले दुबै जना प्रशासकीय अधिकृतसहित ११ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अब कसरी कार्यालय संचालन गर्ने भन्ने नै अन्यौल भएको बताए ।

कार्यालयको सेवा के गर्ने ? भन्ने बारेमा गृह मन्त्रालयमा समन्वय गरिरहेको गौतमले बताएका छन् । संक्रमित अधिकांश कर्मचारीमा रुघाखोकी, ज्वरोसहितका लक्षण समेत देखिएका छन् ।

सीडीओ कार्यालयमा नागरिकता र राष्ट्रिय परिचय पत्रका लागि अहिले सेवाग्राहीहरुको अत्यधिक भीड लाग्ने गरेको छ । यस्तै, प्रमुख जिल्ला अधिकारी गौतमले बुधबार ४८ जनाको पीसीआर परीक्षण गर्दा २ जना एसपी, जिल्ला प्रशासन कार्यालयका ११ कर्मचारी र अन्य ३ जना समेत गरी १६ जनामा कोरोना संक्रमण पुष्टी भएको जानकारी दिए ।

सर्लाहीमा यसअघि प्रमुख जिल्ला अधिकारी गौतम, प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाई, मलंगवा नगरपालिकाका मेयर निरसल साहमा पनि कोरोना संक्रमण पुष्टी भएको थियो । उनीहरु अहिले आइसोलेटेड भएर बसिरहेका छन् ।