आगलागीबाट डेढ लाखको पराल क्षति

कर्मैया – सर्लाहीको बागमती नगरपालिका–१, मिलनचौकमा सोमबार अपरान्ह परालको कुनिउँमा आगलागी हुँदा डेढ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट स्थानीय पूर्ण बहादुर खत्रीको एक लाख र युद्ध बहादुर लामिछानेको ५० हजार गरी एक लाख ५० हजार बराबरको पराल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको हो । परालको कुनिउँमा भएको आगलागीको कारण भने खुल्न सकेको छैन् ।

सोमबार अपरान्ह साँढे ४ बजेतिर लागेको आगो गाउँले, हरिवन नगरपालिकाबाट गएको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी भएर निभाएकाे स्थानिय गाेकर्ण रुपाखेतीले जानकारी थिए । तत्कालै आगो नियन्त्रणमा आएका कारण पराल बाहेक थप धनमालमा क्षति हुन नपाएको स्थानीयवासीले बताएका छन् ।

फाेटाे क्याप्सन : परालमा लागेकाे आगाे नियन्त्रणमा जुटेका स्थानिय । (तस्बिर साैजन्य : गाेकर्ण रुपाखेती)