उद्योग वाणिज्य संघ बरहथवाको साधारण सभा सुरु, भोली नेतृत्व छान्न बन्दसत्र

बरहथवा – सर्लाहीको बरहथवामा शनिबार उद्योग वाणिज्य संघको तेस्रो साधारण सभाको उद्घाटन गरिएको छ ।

बरहथवा नगरपालिका कार्यालयको प्राङ्गणमा बरहथवा उद्योग वाणिज्य संघका अध्यक्ष निरन्जन प्रसाद दासको अध्यक्षतामा बरहथवा नगरपालिकाका मेयर देवानन्द महतोले साधारण सभाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बरहथवाकी उपमेयर सीतादेवी माझी, मलंगवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र साह, लालबन्दी उद्योग वाणिज्य संघका अध्यक्ष कल्याण कुमार जोशी लगायतको आतिथ्यता रहेको थियो ।

उद्घाटन सत्र शनिबार सम्पन्न गरिएपनि नयाँ नेतृत्व चयनका लागि आइतबार बन्दसत्र गरिने अध्यक्ष निरन्जन प्रसाद दासले बताए । बन्दसत्रबाट सकेसम्म सर्वसम्मत रुपमा बरहथवा उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयन गर्ने प्रयास भइरहेको त्यहाँका व्यापारीहरुले बताएका छन् ।

बरहथवामा उद्योग वाणिज्य संघमा आवद्ध रहेका करिव ९ सय व्यवसायीमध्ये साँढे ४ सय जतिले मात्रै सदस्यता नवीकरण गराएका छन् ।