सर्लाही कांग्रेसको प्रदेश र क्षेत्रीय अधिवेशन पर्सी सुक्रवार एकैदिन गर्ने निर्णय

लालबन्दी – नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सर्लाहीमा प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन सुक्रवार एकैदिन गर्ने निर्णय भएको छ ।

बुधबार दिनभर लालबन्दीस्थित होटल यूनाईटेड ईन् डुमडुमेमा बसेको कांग्रेस सर्लाहीको संस्थापन र संस्थापन ईतर पक्षको वार्ताले सो निर्णय गरेको हो । बुधबार बिहानैदेखि साँझसम्म भएको वार्ताबाट क्षेत्र नं. १ को ईश्वरपुर नगरपालिकास्थित बयलवास, क्षेत्र नं. २ को मलंगवास्थित कृष्णामति मा.वि., क्षेत्र नं. ३ को बरहथवास्थित पार्टी कार्यालय र क्षेत्र नं. ४ को गोडैता नगरपालिकास्थित सरस्वती माध्यमिक विद्यालय रामवनमा प्रदेश निर्वाचन क्षेत्र र संघीय निर्वाचन क्षेत्रको अधिवेशन गर्ने निर्णय गरेको निर्वाचन अधिकृत भरत राउतले उज्यालो अभियानलाई जानकारी दिए ।

यस्तै, विवाद भएर स्थगित भएका र उजुरी परेका वडाहरुमा अधिवेशन गराउन निर्वाचन अधिकृत राउतकै संयोजकत्वमा संस्थापन पक्ष अर्थात जिल्ला सभापति नागेन्द्र कुमार रायको तर्फबाट सुरेन्द्र कुमार न्यौपाने र संस्थापन ईतर अर्थात पूर्व जिल्ला सभापति लक्ष्मण रायको तर्फबाट कौशल किशोर राय सदस्य रहने गरी ३ सदस्यीय समन्वय समिति गठन गरिएको छ ।

सर्लाहीमा कांग्रेसको अधिवेशन गराउनेक्रममा असाध्य विवाद देखापरिरहेको छ । वडा अधिवेशनकै क्रममा बलरा नगरपालिकामा २ पटक गोली नै चलिसकेको छ । त्यहाँका ४ वटा वडासहित मलंगवा, कविलासीसहित केही पालिकाका एक÷दुई वटा वडाहरुमा अझै अधिवेशन नै हुन सकेको छैन् ।

जिल्लामा अब गाउँपालिका तथा नगरपालिका र जिल्ला अधिवेशन भने समय अभावले गर्दा नहुने भएको छ । यस्तै, प्रदेश र क्षेत्रीय अधिवेशन सुक्रबार हुँदा पनि शुक्रबारकै दिन प्रदेश २ को अधिवेशन तय भएकाले प्रदेशको पदाधिकारीहरुका लागि सर्लाहीका नेताहरुले प्रतिस्पर्धा गर्न पाउने सम्भावना कम छ ।

क्षेत्रीय निर्वाचनबाट चुनिने महाधिवेशन प्रतिनिधीहरुले भने पर्सी यदी क्षेत्रीय अधिवेशन सम्पन्न भएको खण्डमा राष्ट्रिय महाधिवेशनमा भाग लिन पाउने छन् । बुधबारको वार्तामा जिल्ला सभापति नागेन्द्र कुमार रायको तर्फबाट नेताहरु जंगिलाल राय, शम्भुलाल श्रेष्ठ, उपेन्द्र कुशवाहा, सुरेन्द्र सिंह, सुरेन्द्र न्यौपाने र पुन्य प्रसाद घिमिरे सहभागी थिए ।

यसैगरी, पूर्व जिल्ला सभापति लक्ष्मण रायको तर्फबाट नेताहरु नवीन अधिकारी, कौशलकिशोर राय, बलिराम झा, विनोद खनाल, विनोद सिंह र रामवली राय वार्तामा सहभागी थिए । नेताहरुबीच मंगलबार पनि लालबन्दीमै राती अबेरसम्म नै वार्ता चलेपनि सहमती जुट्न सकेको थिएन् ।

काँग्रेस नेताहरुको वार्तालाई मध्यनजर गर्दै वार्ता भएको होटल यूनाईटेड ईन्मा नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (एन्सपेक्टर) को कमाण्डमा बुधबार दिनभर नै ठूलो संख्यामा प्रहरी टोली तैनाथ गरिएको थियो ।