मैत्रीपूर्ण फुटबलमा हरिवन युवा क्लबले उज्यालो मिडिया ग्रुपलाई हरायो

310

हरिवन – बडादशैंँको अवसरमा मंगलवार सर्लाहीको हरिवनमा आयोजित मैत्रीपूर्ण फुटबल खेलमा हरिवन युवा क्लबले उज्यालो मिडिया ग्रुपलाई पराजित गरेको छ ।

हरिवन–११, स्थित सनराईज आवासिय विद्यालयको प्राङ्गणमा आयोजित प्रतियोगितामा हरिवन युवा क्लबले उज्यालो मिडिया ग्रुपलाई ५–२ गोलले पराजित गरेको हो । हरिवन युवा क्लबको तर्फबाट पूर्व राष्ट्रिय खेलाडी जुमानु राई, ए डिभिजन क्लबका पूर्व खेलाडीहरु सुमन सिन्दाली र रामचन्द्र राई लगायतका खेलाडीले खेलेका थिए । हरिवन–८, का वडाध्यक्ष यज्ञविनोद ढुंगेल गोलकिपर बसेको हरिवन युवा क्लबको तर्फबाट उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष मोहनलाल श्रेष्ठ र ईलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर भुपेन्द्र गिरीले समेत खेलेका थिए ।

यता ज्यालो मिडिया ग्रुपको तर्फबाट संचारकर्मीहरु प्रतिस्पर्धामा उत्रिएका थिए । हरिवन नै निवासी शताब्दी पुरुष बबरजंग थापाको प्रमुख आतिथ्यतामा प्रतियोगिता आयोजना गरिएको हो ।

प्रमुख अतिथि थापालाई कार्यक्रममा हरिवन युवा क्लबका अध्यक्ष सुमन सिन्दाली र उज्यालो अभियान मिडिया नेटवर्कका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष टंक बहादुर क्षेत्रीले दोसल्ला ओढाएर सम्मान समेत गरेका छन् ।