डेढ बर्षपछि मलंगवा नाका खुल्यो

384
भारतको सोनवर्षा जोड्ने मुख्य नाका स्थित गोरखकाली चौकी परिसरमा रोकिएका भारतीय सबारी साधन तथा भारतमा किनमेल गरेर आउने सर्बसाधारणको सामान ओसार्न नेपालतर्फ लामवद्ध अटो रिक्साहरु । (फाईल तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीको मुख्य मलंगवा भन्सार नाका दुईतर्फी रुपमा सूचारु भएको छ ।

शनिबारबाट दुईतर्फी रुपमा सवारी साधन ओहोरदोहोर हुन थालेको छ । नेपाली पक्षबाट केही साताअघि नै नाका सूचारु गरिएपनि भारतीय पक्षले रोक लगाएका कारण सवारी साधन आवतजावत भएको थिएन । कोरोना भाईरस संक्रमणका कारण २०७६ चैत १० गते १० बजेबाट बन्द रहेको सर्लाहीको सिमा नाका शनिबारबाट सूचारु भएको हो । त्यतिखेर जिल्ला स्थिथत १५ वटै नाका बन्द गरिएको थियो । भारतीय पक्षले खोलेसँगै सवारी साधन आवागमन ह्वात्तै बढेको स्थानीय बासिन्दाले जनाएका छन् । हाललाई मलंगवा नाकामात्र खुलेको र पछि क्रमशः अन्य नाकाहरुबाट पनि सवारी साधन ओहोर दोहोर हुने बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रमुख प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले भारतीय पक्षले पनि नाका खुला गरेको जानकारी दिए । ‘हाम्रोतर्फबाट त यसअघि नै नाका खुला गर्ने निर्णय भईसकेको थियो’, प्रहरी उपरीक्षक राठौरले भने, ‘भारतीय पक्षले भने माथिल्लो तहको आदेश नआएको भन्दै सवारी साधन आवागमनमा रोकेको थियो ।’ कागजी प्रकृया पूरा गरेर तथा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्र नाकामा सवारी साधन आवतजावत सूरु भएको राठौरले जानकारी दिए ।

औपचारिक रुपमा नाका नखुल्दा सर्वसाधारणहरु खेत खोला खोल्सी भएर पैदल आवतजावत गरिरहेका थिए । नाका खुलेसँगै दुवै देशका सर्बसाधारण एवं व्यवसायीहरुमा खुशियाली छाएको छ । विशेषगरी चाडबाडको बेला नाका औपचारिक रुपमा नखुल्दा भारतीय व्यवसायीहरु बढी दुःखी थिए । भारतको सोनवर्षा लगायत सिमावर्ती बजारको झण्डै दुईतीहाई ग्राहक नेपाली नै रहेका छन् । सवारी साधन आवतजावत नहुँदा नेपाली ग्राहक भारतीय बजारसम्म जान सकिरहेका थिएनन् ।

यो पनि पढ्नोस्

आजबाट सर्लाहीका सबै सिमा नाका ‘सिल’

भारतीय उदासिनताका कारण नेपालले खोलेपनि सुचारु भएन मलंगवा नाका

सीमा नाका खुलाउन माग गर्दै मेयर र सांसद नै धर्नामा