बागमतीले दियो प्रदेश मन्त्रीलाई स्वास्थ्य सामग्री

650
सामाजिक विकास मन्त्री नवल किशोर साह (दायाँ) लाई सहयोग सामग्रीको लिखित पत्र प्रदान गर्दै आड्रा नेपालका डा. घनश्याम भट्ट । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन स्थित वागमती सेवा समाज नेपाल नामक गैर सरकारी संस्थाले प्रदेश दुई सरकारका सामाजिक विकास मन्त्री नवल किशोर साहलाई कोरोना भाईरस संक्रमण विरुद्ध उपयोगि विभिन्न स्वास्थ्य सुरक्षा सामग्रीहरु प्रदान गरेको छ ।

आड्रा नेपालसँगको साझेदारीमा बागमतीले शुक्रबार दिउँसो जनकपुरको मुजेलिया स्थित होटल राजदरबार एण्ड नभरङ्ग रिसोर्टको सभाहलमा आयोजित एक समारोहबीच मन्त्री साहलाई ती सामग्री हस्तान्तरण गरेको हो । आड्रा नेपालका डा. घनश्याम भट्टले सामाजिक विकास मन्त्री साहलाई सामग्री हस्तान्तरणको लिखित पत्र प्रदान गरेका थिए ।

प्रमुख अतिथिको रुपमा उपस्थित मन्त्री साहले कार्यक्रममा बोल्दै बागमती सेवा समाज नेपाल तथा आड्रा नेपालले कोरोना भाईरस संक्रमण जस्तो विपदको घडीमा प्रदेश सरकारलाई स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेर ठूलो गुन लगाएको भन्दै धन्यवाद प्रकट गरे । ‘बागमती सेवा समाजले यसअघि पनि पटक–पटक प्रदेश सरकार तथा प्रदेश भित्रका विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थालाई सहयोग गर्दै आएको थियो’, मन्त्री साहले भने, ‘आजपनि फेरि ठूलो मात्रामा स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराएकामा म व्यक्तिगत तर्फबाट तथा प्रदेश सरकारकै तर्फबाट आभार व्यक्त गर्न चाहन्छु ।’ कोरोना भाईरस संक्रमण विरुद्ध लड्नका लागि संघीय सरकारले वेवास्ता गरिरहेको अवस्थामा गैर सरकारी क्षेत्रबाट प्रदेश सरकारलाई भरपुर सहयोग प्राप्त भएको भन्दै मन्त्री साहले सहयोगि संस्थाप्रति धन्यवाद प्रकट गरे ।

कार्यक्रममा प्रादेशिक स्वास्थ्य निर्देशनालय जनकपुरका निर्देशक डा. विजयकुमार झा, मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. रामकेवल साह, जनकपुर प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. प्रमोद कुमार यादव लगायत स्वास्थ्य क्षेत्रका विभिन्न अधिकारीहरुले गैर सरकारी क्षेत्रबाट आएको स्वास्थ्य सामग्री सहयोगले प्रदेश भित्र कोरोना भाईरस नियन्त्रणमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा बोल्दै बागमती सेवा समाज नेपालका अध्यक्ष भरत कुमार कार्कीले कोभिड–१९ बिरुद्धको लडाईमा सबै एकजुट भएर लाग्नु पर्ने र श्रोत साधनहरुको उपलब्धता अनुसार वागमती सेवा समाजले प्रदेश नं. २ का प्राय सबै जिल्लाका जिल्ला अस्पतालहरुमा बिभिन्न खालका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराइरहेको तथा अन्य उपकरण, तथा आवश्यक सामाग्रीहरु गजेन्द्र नारायण सिंह अस्पताल र महोत्तरी अस्पताललाई हस्तान्तरण गर्नेे योजना समेत रहेको बताए ।

कार्यक्रममा बागमती सेवा समाजका सुनिलकुमार साहले संस्थाको परिचय एवं कोरोना भाईरस नियन्त्रण अभियानका क्रममा हालसम्म गरिएका क्रियाकलापबारे प्रस्तुतीकरण गरेका थिए । साहले कोभिड नियन्त्रणका लागि संस्थाले यूएनएफपीए, सेभ दी चिल्ड्रेन, आड्रा नेपाल लगायतसँगको साझेदारीमा प्रादेशिक अस्पताल, प्रदेश भित्रका जिल्ला अस्पतालहरु तथा विभिन्न स्वास्थ्य चौकी सहितका स्वास्थ्य संस्थाहरु, विद्यालय लगायतमा यसअघि प्रदान गरिएका स्वास्थ्य सुरक्षा सामग्री तथा अति विपन्न, गरिब गर्भवती महिला सहितलाई प्रदान गरिएको खाद्य सामग्रीहरुको विवरण समेत प्रस्तुत गरेका थिए । बागमतीका अध्यक्ष कार्कीको अध्यक्षता एवं मन्त्री साहको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बागमती सेवा समाजका कार्यकारी निर्देशक निरज भण्डारी, नवराज भण्डारी, स्वास्थ्य क्षेत्रका प्रतिनिधि लगायतको उपस्थिती रहेको थियो ।

शुक्रबार हस्तान्तरण गरिएका सामग्रीहरुमा ५० सेट पीपीई, अक्सिजन कन्सन्ट्रेटर ४ थान, अक्सिजन सिलिण्डर सहितको प्यासेन्ट ट्रली ३ थान, के एन ९५ मास्क १०० थान, सर्जिकल ग्लोब्स १००० जोर, ५ प्यारामिटर सहितको वेड साइज भाइटल मोनिटर ३ थान, अटोमेटिक ह्याण्ड स्यानिटाइजर २ थान, फेस सिल्ड ५०० थान, सु कभर १२० जोर, भेञ्चर मास्क २३० थान, एम्बु ब्याग २ थान, आईभी क्यानुला ५० थान, आईभी स्ट्याण्ड १५ थान, नेबुलाइजर ३ थान, इन्फ्युजन पम्प २ थान, ह्याण्ड स्यानिटाइजर ३० बोतल रहेका छन् । उक्त सामग्रीहरु मणिपाल कोभिड अस्पताल, प्रादेशिक अस्पताल, विभिन्न जिल्ला अस्पतालहरु, प्राथमिक स्वास्थ्य केन्द्र तथा विभिन्न स्वास्थ्य चौकीहरुमा प्रयोग हुनेछ ।