चौंथो नगर स्तरीय वडाध्यक्ष कप फुटबल सुरु, वडा नं. ११ द्वारा बिजय सुरुवात

457
प्रतियोगिताको उद्घाटन गर्दै लालबन्दीका मेयर मानबहादुर खड्का । (तस्बीर : उज्यालो अभियान)

नवलपुर – लालबन्दी नगरपालिका–१, नवलपुरमा सुक्रवारबाट चौंथो नगर स्तरीय वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।

नगरपालिकाको आर्थिक सहयोगमा जिवेश्वर युवा क्लबले नवलपुरस्थित फुटबल मैदानमा प्रतियोगिता आयोजना गरेको हो । उक्त प्रतियोगिताको सुक्रवार दिउँसो लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काले उद्घाटन गरेका छन् ।

लालबन्दी नगरपालिका–१, का वडाध्यक्ष पन्चलाल स्याङ्बोको अध्यक्षतामा आयोजित प्रतियोगिताको उद्घाटन समारोहमा पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, लालबन्दी नगरपालिकाका विभिन्न वडाका वडाध्यक्ष, अन्य जनप्रतिनिधि, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका प्रसाद आचार्य र फुटबलसँग सरोकार राख्ने अन्य निकायका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतियोगिता अन्तर्गत सुक्रवार पहिलो दिन सम्पन्न उद्घाटन खेलमा वडा नं. ११ ले आयोजक वडा नंं. १ लाई २–० गोलले पराजित गरेको छ । असोज २५ गते फाइनल खेल हुने प्रतियोगितामा नगरभित्रका १७ वटै वडाले सहभागिता जनाउने छन् ।

आयोजकका अनुसार प्रतियोगिताको बिजेतालाई ६६ हजार ६ सय ६६ रुपैयाँ र उपबिजेतालाई ३३ हजार ३ सय ३३ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । यस्तै, अनुशासित टिमलाई ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

नगरपालिकाभित्र फुटबल खेल र खेलाडीको विकास गर्ने उद्देश्यले नगरपालिकाले बर्सेनि वडाध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै लालबन्दीका मेयर मानबहादुर खड्का । (तस्बीर : उज्यालो अभियान)