स्वस्तिकको २१ औँ साधारण सभा सम्पन्न

128

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–६, बयलवासमा रहेको स्वस्तिक बचत तथा ऋण सहकारी संस्थाको शनिवार २१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष वेनीबहादुर कार्कीको अध्यक्षता तथा ईश्वरपुर नगरपालिकाका मेयर मनोज कुमार देवकोटाको प्रमुख आतिथ्यतामा संस्थाकै सभा हलमा साधारण सभा सम्पन्न गरिएको हो । सभामा ईश्वरपुर नगरपालिका–६, का वडाध्यक्ष रहमान अन्सारी, सहकारी विभाग प्रदेश २ का शाखा अधिकृत रामपृत यादव, सहकारी बैंक हरिवन शाखाका प्रवन्धक सरोज सापकोटा, ईलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनकराज ढुंगाना लगायतको आतिथ्यता रहेको थियो ।

संस्थाका प्रवन्धक विनोद कुमार थापाको संचालन तथा सचिव वेचु प्रसाद तिमल्सिनाको स्वागत रहेको कार्यक्रममा कोषाध्यक्ष विष्णुहरि मैनालीले हरहिसाब प्रस्तुत गरेका थिए । गएको असार मसान्तसम्म २८ करोड ९० लाख ५४ हजार १६७ रुपैयाँ कूल कारोवार गरेको संस्थाले गत आर्थिक वर्ष २०७७÷०७८ मा ६५ लाख ६६ हजार १०८ रुपैयाँ खुद मुनाफा आर्जन गरेको साधारण सभामा जानकारी गराइएको छ ।

संस्थाले यो पटक आफ्ना शेयर सदस्यहरुलाई १५ प्रतिसत लाभांश समेत वितरण गरेको छ । साधारण सभामा हरेक वर्ष झैँ उत्कृष्ट बचतकर्ता २ जना, उत्कृष्ट ऋणी २ जना, जेहेन्दार विद्यार्थी २ जना, ज्येष्ठ नागरिक १६ जना, एकल महिला ४६ जना, एकल पुरुष १० जना, अपाङ्गता भएका ५ जना सदस्यलाई नगद र सम्मान पत्रसहित सम्मान गरेको छ ।