मलंगवामा नवजात शिशुसहित दुई जनाको शव फेला

691
प्रतिकात्मक तस्बिर ।

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा शनिवार नवजात शिशुसहित दुई जनाको शव फेला परेको छ ।

मलंगवा नगरपालिका वडा नं. ४ मा रहेको एक पोखरीमा अन्दाजी ७ महिनाजतिको शिशुको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण गिरीले बताए । मलंगवाको पानीटंकीबाट उत्तर पल्सी जाने सडक छेउमा रहेको उक्त पोखरीमा शनिवार बिहान तैरिरहेको अवस्थामा शिशुको शव देखेपछि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए ।

प्रायः अंगहरु विकास भइसकेको शिशु छोरा रहेको प्रहरीले पुष्टी गरेको छ । शिशु कस्ले फालेको हो ? भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

स्थानीयवासी श्याम महतोले गर्भावस्थाकै शिशु फालेको जस्तो देखिएको बताए । यस्तै, शनिवार दिउँसो सदरमुकाम मलंगवा नगरपालिका वडा नं. ७ गणेशियास्थित नहरमा एक बेवारिसे पुरुषको शव फेला परेको छ ।

सढ्न थालिसकेको अवस्थामा अन्दाजी ३५/४० वर्षका पुरुषको शव फेला परेको प्रहरी निरीक्षक गिरीले जनाए । स्थानीयहरु बोलाएर सोधखोज गर्दा पनि पुरुषको सनाखत हुन नसकेको प्रहरीेले जनाएको छ ।

शिशु र पुरुष दुवैको मृत्युको कारण खुल्न सकेको छैन् । दुवैको शव पोष्टमार्टमका लागि मलंगवास्थित जिल्ला अस्पतालमा राखिएको छ ।