सर्लाहीका कांग्रेसीको काठमाण्डौंमा रँडाको, एक अर्काविरुद्ध प्रदर्शन

572

लालबन्दी – नेपाली कांग्रेस सर्लाहीका नेता, कार्यकर्ताबीच सानेपास्थित केन्द्रीय पार्टी कार्यालयमा रँडाको मच्चिएको छ ।

पार्टीको क्रियाशील सदस्यताको विषयलाई लिएर गएको मंगलवार पार्टी नेता एवं प्रदेश २ सरकारका महिला, बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह र बरहथवा नगरपालिका वडा नं. ४ का वडाध्यक्ष लखिन्द्र महतोबीच केन्द्रीय पार्टी कार्यालयमै विवाद भएको थियो । सो घटनापछि पार्टी जिल्ला सभापति नागेन्द्र कुमार राय पक्षीय मन्त्री सिंह र पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय निकट मानिने वडाध्यक्ष महतो पक्षले बिहिवार एक अर्काविरुद्ध पार्टी कार्यालयमा प्रदर्शन गरेको छ ।

दुवै समूहले प्रदर्शनका लागि ठूलो संख्यामा नेता, कार्यकर्ता काठमाण्डौं उतारेका छन् । यहीँबाट गाडी रिर्जभ गरेर कार्यकर्ताहरु काठमाण्डौं लगिएको छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल निकट समूहले नेता प्रकाश मान सिंह, शेखर कोइराला, सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंह, पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण राय लगायतको उपस्थितिमा प्रदेशका मन्त्री सिंहले आफ्नो कार्यकर्तामाथि हातपात गरेको भन्दै प्रदर्शन गरेको छ ।

सो प्रदर्शन लगत्तै पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निकट मन्त्री सिंह पक्षले पनि जुलुस प्रदर्शन गरेको छ । मन्त्री सिंहसँगै प्रदेश सभा सदस्य उपेन्द्र कुशवाहा, नेता जंगिलाल राय, हरेश महतो लगायतको उपस्थितिमा प्रदर्शन गरिएको हो ।

पौडेल पक्षिय कांग्रेस सर्लाहीका पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायले क्रियाशील सदस्यता विवादमा धाँदली भइरहेको उज्यालो अभियानसँग बताए । गतल बाटोबाट क्रियाशील सदस्यता वितरण गरिएको भन्दै गुनासो राख्न खोज्दा मन्त्री सिंहले आफ्नै कार्यकर्ता तथा वडाध्यक्षमाथि हातपात गरेको रायले आरोप लगाए ।

यता, देउवा निकट कांग्रेस सर्लाहीका सभापति नागेन्द्र कुमार रायले भने जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगिसकेको भएपनि विवाद झन बढाइएको उज्यालोसँगकै कुराकानीमा बताएका छन् । उनले प्रदेश सरकारका मन्त्री वीरेन्द्र प्रसाद सिंह र वडाध्यक्षबीचको विवाद सांसद अमरेश कुमार सिंहद्धारा सुनियोजित रुपमा गराइएको आरोप लगाए ।

पछिल्लो घटनापछि कांग्रेस सर्लाहीको क्रियाशील विवाद झन् पेचिलो बनेको छ । सर्लाहीमा मुख्यगरी २ नं. क्षेत्र र ४ नं. क्षेत्रमा क्रियाशील सदस्यता विवाद छ ।

यसैबीच, पार्टी जिल्ला सभापति नागेन्द्र कुमार राय र ४ नं. क्षेत्रका क्षेत्रीय सभापति राम आश्रय साहले बिहिवार बेग्लाबेग्लै प्रेस विज्ञप्ती निकालेर सांसद अमरेश कुमार सिंहको उक्साहटमा मंगलवारको घटना भएको आरोप लगाउँदै उनीमाथि कारवाहीको माग गरेका छन् ।