मिटर ब्याजमा ऋण लगानी गरी ठगी गरेको आरोपमा नरेश चौधरी पक्राउ

869
मिटर ब्याजमा ऋण लगानी गरी ठगी गरेको आरोपमा पक्राउ परेका नरेश चौधरी । (तस्बीर : उज्यालो अभियान)

चन्द्रनगर – मिटर ब्याजमा ऋण लगानी गरेर ठगी गरेको आरोपमा सर्लाही प्रहरीले चन्द्रनगर गाउँपालिका–३, बडकुर्वाका नरेश चौधरीलाई पक्राउ गरेको छ ।

पीडितहरुबाट जाहेरी आएपछि अनुसन्धानका लागि चौधरीलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रमुख (एसपी) सन्तोष सिंह राठौरले पुष्टी गरेका छन् । चौधरीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्वन्धी कसुरमा अनुसन्धानका लागि मंगलवार सर्लाही जिल्ला अदालतले प्रहरीलाई ५ दिनको म्याद प्रदान गरेको छ ।

चौधरीले विपन्न नागरिकलाई मिटर ब्याजमा ऋण लगाएर उठिबास गराएको अरोप छ । उनले मिटर ब्याजमा ऋण लगाउने र दृष्टिन्धक भनेर जग्गा जमिन रजिष्टे«सन पास गरेर ठगी गर्दै आइरहेकोबारे संचार माध्यममा समाचार आएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीले समेत यसबारेमा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएको थियो ।

चौधरी सोमवार साँझ घरबाटै पक्राउ परेका हुन् । एसपी राठौरका अनुसार अहिलेसम्म ३ जनाको उजुरी परिसकेको र थप केही व्यक्तिहरुले वुधवार पनि उजुरी लिएर आउने बताएका छन् । चौधरीलाई हिरासतमा लिएर अनुसन्धान जारी नै रहेकाले थप कुराहरु खुल्न बाँकी नै रहेको प्रहरीले बताएको छ ।

सर्लाही प्रहरीले यसअघि मिटर ब्याजमा ऋण लगानी गरेर ठगी गरेको आरोपमा श्याम परदेशी भन्ने श्यामकृष्ण साह कलवार र रामबाबु राय यादवलाई पनि पक्राउ गरेको थियो ।