ईन्द्रजात्रा मेला महोत्सव सकियो, प्रदेश स्तरीय नृत्य प्रतियोगितामा हरिवन पहिलो

821

घनश्याम बलम्पाकी/सोल्टी – सर्लाहीको बागमती नगरपालिकास्थित सोल्टी बजारमा आयोजित ईन्द्रजात्रा मेला महोत्सवको समापन गरिएको छ ।

महोत्सवको अवसरमा आयोजित प्रदेश २ स्तरीय खुल्ला नृत्य प्रतियोगिता सकिएसँगै महोत्सवको पनि समापन गरिएको हो । सोमवार राती अबेरदेखि मंगलवार बिहानपख सम्म चलेको नृत्य प्रतियोगितामा पीएस एम हरिवन पहिलो, एच एस क्रु बर्दिवास दोस्रो, सिरुची युवा क्लब बर्दिवास तेस्रो र सानु लुंगेलीले सान्त्वना स्थान हाँसिल गरेका छन् ।

पहिलो, दोस्रो, तेस्रो र सान्त्वना प्राप्त गर्नेलाई पुरस्कार स्वरुप क्रमश : ४१ हजार ५००, २१ हजार ५००, ११ हजार ५०० र २ हजार नगदसँगै शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको महोत्सव आयोजक समितिका अध्यक्ष टिका दर्लामीले जानकारी दिए । ७ औँ सिजनको यस नृत्य प्रतियोगितामा १० वटा समूहले सहभागिता जनाएका थिए ।

बिजेताहरुलाई बागमती नगरपालिका वडा नंं. ८ का वडाध्यक्ष मानबहादुर तामाङ, वडा नं. ६ का वडाध्यक्ष गोबिन्द राई, समाजसेवी जवाहारलाल कुशवाहा लगायतले पुरस्कार वितरण गरे । असोज १ गतेबाट सुरु भएको महोत्सवको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाले उद्घाटन गरेका थिए ।