हरिवन नगरपालिका ३ को वडा कार्यालय भवन शिलान्यास

915

हरिवन – सर्लाहीको हरिवन नगरपालिका वडा नं. ३ डाबरीमा सोमवार वडा कार्यालय भवनको शिलान्यास गरिएको छ ।

वडाबाट विनियोजित २० लाख र नगरपालिकाले छुट्याएको १० लाख गरी जम्मा ३० लाख रुपैयाँ लागतमा वडा कार्यालयको भवन निर्माण गर्न सुरु गरिएको वडाध्यक्ष दीपमान लोप्चनले जानकारी दिए । भवन निर्माण कार्यको सोमवार बिहान हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईले शिलान्यास गरेका हुन् ।

यसै वर्षभित्र भवन निर्माणको काम सकेर वडा कार्यालय सार्ने योजना रहेको वडाध्यक्ष लोप्चनले बताए । अहिले भाडाको घरबाटै वडा कार्यालय संचालन भइरहेको छ । सुरुमा पूर्व–पश्चिम राजमार्गस्थित सासापुरमा रहेको वडा नं. ३ र ४ को संयुक्त वडा कार्यालयबाट सेवा संचालन गरिएको भएपनि बुढाबुढी र बिरामीलाई राजमार्गसम्म आउन समस्या भएपछि गाउँमै व्यक्तिगत घर भाडामा लिएर वडा कार्यालय संचालन गरिरहेको वडाध्यक्ष लोप्चनले बताए ।

वडा कार्यालय उद्घाटन कार्यक्रममा वडा सचिव उत्तम थापा, वडा सदस्य देवतारण महतो, माओवादी केन्द्रको तर्फबाट वडाध्यक्षका प्रत्यासी नागेन्द्र चौधरी, अनेरास्ववियूका नेता युवराज आचार्य, रोजन घिसिङ लगायतको उपस्थिति रहेको थियो । हरिवन नगरपालिकाको वडा नं. १, ३, ७, ९ र १० ले यस वर्ष वडा कार्यालय बनाउन बजेट विनियोजन गरेका छन् ।