समाजसेवी आचार्यको सहयोगमा एकल महिला गोलेको घर निर्माण गर्न सुरु

301

सागरनाथ – समाजसेवी एवं नेपाली कांग्रेसका नेता मनोज कुमार आचार्यले सर्लाहीको ईश्वरपुर नगरपालिका–४, सागरनाथ लेबर हाउसमा एक जना एकल महिलाको घर निर्माण गर्न आर्थिक सहयोग गरेका छन् ।

विगत दुई वर्षदेखि छानो नै नभएको घरमा बस्दै आएकी ८५ वर्षीया एकल महिला टिकुमाया गोलेको घर निर्माण गर्न समाजसेवी आचार्यले ५० हजार रुपैयाँ नगद सहयोग गरेका हुन् । आचार्यले आइतवार संविधान दिवसको अवसर पारेर स्थानीय कांग्रेस नेताहरुसहित लेबर हाउसमा पुगेर वृद्ध आमाको घर शिलान्यास गरेका छन् ।

स्थानीय कांग्रेस नेताहरु वृद्ध महिलाको घर निर्माण गर्न एकजुट भएका छन् । ईश्वरपुरको भक्तिपुर निवासी समाजसेवी आचार्यले यसरी समस्यामा परेका विभिन्न व्यक्तिहरु तथा सामाजिक संघसंस्थाहरुलाई यस प्रकारको सहयोग गर्दै आइरहेका छन् ।