रन्जित सहनीको नेतृत्वमा अखिल क्रान्तिकारी सर्लाहीको नयाँ नेतृत्व चयन

317

बागमती – सर्लाहीमा आइतवार नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन भएको छ ।


आइतवार बागमती नगरपालिकाको सभा हलमा सम्पन्न १७ औँ जिल्ला सम्मेलनबाट रन्जित सहनीको नेतृत्वमा ५१ सदस्यीय नयाँ कमिटी गठन गरिएको हो । कमिटीमा सहनी अध्यक्ष, दिपेन्द्र यादव, सेख सबिवुल र दिपेन्द्र महतो उपाध्यक्ष, सरोज रायमाझी सचिव, तेज लामा, सपना विक र रामचन्द्र साह सहसचिव, रन्जित महतो कोषाध्यक्ष लगायत अन्य सदस्यहरु रहेका छन् ।


अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष विवेक मैनालीको अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीको प्रमुख आतिथ्यतामा जिल्ला सम्मेलन आयोजना गरी नयाँ नेतृत्व चयन गरिएको हो । कार्यक्रममा बागमती नगरपालिकाका मेयर भरत कुमार थापा, उपमेयर लिलाकुमार मोक्तान, माओवादी केन्द्रका जिल्ला इन्चार्ज अच्यूतम काफ्ले, जिल्ला सचिव कमल बुढाथोकी, नेता लुमडी धिमाल (लोचन), नेतृ माया बल, अखिलका प्रदेश इन्चार्ज एवं केन्द्रीय सदस्य सूर्यनारायण साह, अखिलकै प्रदेश सहइन्चार्ज विश्वमणि थापा, सर्लाही जिल्ला इन्चार्ज शिवराज धमला लगायतको आतिथ्यता रहेको थियो ।


यसैबीच, नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सर्लाहीले पनि आइतवार आफ्नो विद्यार्थी संगठन अखिल क्रान्तिकारीको जिल्ला नेतृत्व चयन गरेको छ । बयलवासमा सम्पन्न भेलाबाट अर्पण पौडेल अध्यक्ष, सीताकुमारी चौधरी उपाध्यक्ष, सगस पासवान सचिव, सन्जिव मण्डल सहसचिव र जष्टिना राउत कोषाध्यक्षसहित २१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको छ ।


भेलाले असोज ६, ७ र ८ गते पोखरामा हुने अखिल क्रान्तिकारीको २२ औँ राष्ट्रिय सम्मेलनका लागि अर्पण पौडेल, जष्टिना राउत लगायत ४ जना प्रतिनिधि छनौट गरेको विप्लव समूहका सर्लाही जिल्ला सेक्रेटरी कमल सुस्लिङले बताए ।