वर्ल्ड भिजन कार्यक्रम सल्लाहकार समितिको बैठक

116
बैठकमा उपस्थित सहभागिहरु । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – वर्ल्ड भिजन ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालित विभिन्न परियोजनाको सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।

वर्ल्ड भिजनको सहयोगमा बागमती सेवा समाज नेपाल हरिवन र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (आरआरपीके) मलंगवाको साझेदारीमा सन २०२० मा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सर सीप, स्वास्थ्य तथा पोषण, उत्थानशिलता, कृषि तथा आर्थिक विकास विपद् जोखिम व्यवस्थापन सम्बन्धी कार्यक्रमको प्रगति विवरण प्रस्तुती सहित सल्लाह सुझाव संकलन गर्ने उद्धेश्यले जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न भएको हो । बैठकमै अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वर्ल्ड भिजन ईन्टरनेशनल, विश्व शिक्षा र राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र मलंगवाको साझेदारीमा सञ्चालित समावेशी शिक्षा सुदृढिकरण सिकाई परियोजनाको समेत प्रगति विवरण प्रस्तुत गरिएको थियो । बैठकका सहभागिहरुले कार्यक्रमको प्रगति विवरण सुनेपछि आवश्यक सल्लाह सुझाव दिएका थिए ।

कार्यक्रम हरिपूर्वा नगरपालिका एवं पर्सा, चन्द्रनगर र ब्रम्हपुरी गाउँपालिकामा सञ्चालित रहेको बताईएको छ । जिल्ला समन्व्य समितिका प्रमुख मेथुर चौधरीको अध्यक्षतामा भएको बैठकमा जिसस उपप्रमुख जमुना पराजुली, मलंगवा नगरपालिकाका मेयर निरसल साह, हरिपूर्वा नगरपालिकाका मेयर सियाराम राय, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतो, ब्रम्हपुरी गाउँपालिकाकी उपाध्यक्ष गीता देवी राय, प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, जिल्ला समन्वय अधिकारी होमनाथ सुबेदी, जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेट डा. नवलकिशोर झा, जिल्ला शिक्षा विकास समन्वय ईकाई प्रमुख रामआधार कुशवाहा, कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेव कुशवाहा, आरआरपीकेका अध्यक्ष शिवजी साह, बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्की लगायतको उपस्थिती रहेको थियो । सदरमुकाम मलंगवा स्थित कुसुम पार्टी प्यालेसमा बुधबार बिहान आयोजित बैठकका सहभागिले आगामी दिनमा कार्यक्रममा सुधार गर्नुपर्ने तथा समेट्नु पर्ने पक्षमा सुझाव दिएका थिए ।