अदालतबाट ७१ लाख जरिवाना तोकिएका तीन अभियुक्त पक्राउ

176

बयलवास – ठगी र वन मुद्धामा फरार रहेका तीन अभियुक्त सर्लाहीको ईश्वरपुरबाट पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय केशरगन्जको टोलीले सर्लाही जिल्ला अदालतबाट ७१ लाख बढी जरिवाना तोकिएपछि फरार भएका ठगी मुद्धाका दुई जना र वन मुद्धाका एक जना अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा ईश्वरपुर नगरपालिका–८, रामपुरका ५५ वर्षीय चेत बहादुर कार्की, सोही ठाउँका ३४ वर्षीय बलराम थापा र ईश्वरपुर नगरपालिका–६, बयलवास बस्ने ३४ वर्षीय मझर अंसारी रहेका केशरगन्ज प्रहरीले जनाएको छ ।

तीन अभियुक्तमध्ये चेत बहादुर कार्कीविरुद्ध सर्लाही जिल्ला अदालतले चारवटा ठगी मुद्धामा ५४ लाख ३४ हजार ८५० रुपैयाँ ३८ पैसा बिगो जरिवाना तोकेको छ । कार्की १४ वर्षअघि सुनसरी जिल्लामा रहेको एक सहकारीमा ठगी गरेर फरार भएका थिए ।

यस्तै, अर्र्का अभियुक्त बलराम थापाविरुद्ध दुईवटा ठगी मुद्दा दर्ता भएका छन् । थापालाई अदालतले १६ लाख ३१ हजार ४५४ रुपैयाँ ४४ पैसा बिगो जरिवानासहित एक वर्ष छ महिना कैद सजाय तोकेको छ ।

त्यसैगरी, वन मुद्दाका अभियुक्त मझर अन्सारीविरुद्ध ८९ हजार ६३८ रुपैयाँँ बिगो जरिवाना माग भएको प्रहरीले जनाएको छ ।

तीनै जना अभियुक्तलाई गाउँमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरी अदालत पेश गरिएको ईलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए ।