सर्लाहीमा भेरोसेलको दोस्रो मात्रा लगाउन सुरु

लालबन्दी – सर्लाहीमा आज पनि लालबन्दी, हरिवन, र बागमतीसहित सबै पालिकाहरुमा कोरोना भाइरसविरुद्ध भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै छ ।

गएको साउन २६ देखि ३० गतेसम्म चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा लगाएकाहरुलाई हिजोबाट दोस्रो मात्रा लगाउन सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय मलंगवाका खोप अधिकृत राम दुलार यादवले जानकारी दिए । लालबन्दी, हरिवन र बागमती नगरपालिकाका लागि खोप लिन पथलैया गएको गाडी बाटोमा नै बिग्रिएपछि यि तीन पालिकामा भने हिजो खोप लगाउन सकिएन् ।

मलंगवा आइसकेको खोप अन्य पालिकाहरुमा बाँडेर सकिएकाले लालबन्दी, हरिवन र बागमतीका लागि खोप भण्डारण गरिएको स्थान पथलैयाबाटै सोझै खोप मगाइएको थियो । लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक सुरेन्द्र खतिवडाले हिजो बाराको पिलुवा जंगलमा गाडी बिग्रिएपछि खोप पथलैयातर्फ नै फर्किएकाले अब आज पुनः खोप ल्याएर लगाउन सुरु गरिने बताए ।

सर्लाहीमा ४९ हजार ७ सय ५४ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । उनीहरु सबैलाई दोस्रो मात्रा लगाउन पुग्ने गरी करिव ५० हजार डोज खोप प्राप्त भएको खोप अधिकृत यादवले बताए ।

उनका अनुसार आज, भोली र पर्सी गरी तीन दिन खोप कार्यक्रम चल्ने छ । सबैलाई पुग्ने गरी खोप आएकाले भीडभाड नगरी पालैपालो नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

पालिकाहरुले स्वास्थ्य संस्था र अन्य स्थानमा तोकेको खोप केन्द्रमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाइने छ ।