सर्लाहीको मौसम बदली, तापक्रम घटेपछि राहत

सर्लाहीको मनुषमारास्थित हावापानी मापन केन्द्र । (तस्बिर : उज्यालो अभियान)

हरिवन – ५/६ दिन निरन्तर चर्को गर्मी खपेका सर्लाहीवासीले मौसममा आउको बद्लीपछि राहत महसुस गरेका छन् ।

यस क्षेत्रमा हिजोदेखि मौसम बद्ली भएको छ । अहिले बिहान जिल्लाभरको मौसम धुम्मिएको छ । अघिल्ला दिनहरुमा भन्दा हिजोबाट जिल्लावासीले गर्मी पनि कम भएको महसुस गरेका छन् ।

५/६ दिन बिहानदेखि साँझसम्म नै एकटंकार चर्को घाम लागेर तापक्रम बढ्दा यहाँका वासिन्दा उकुसमुकुस हुन पुगेका थिए । गत आइतवार जिल्लाको तापक्रम बढेर ३५ डिग्री सेल्सीयस पुगेको थियो । अहिले बिहान सर्लाहीको अधिकतम तापक्रम २६ डिग्री सेल्सीयस मापन गरिएको छ ।

केही दिनको चर्को घामले जिल्लाको पूर्व–पश्चिम हुलाकी सडक र अन्य ग्रामीण बाटाहरु अहिले धूलाम्मे अवस्थामा पुगेका छन् । पानी पर्दा हिलाम्मे भएर हिँड्नै नसकिने सडकहरु ५/६ दिनको घाम पछि धूलाम्मे भएका हुन् ।

यस्तै, पूर्व–पश्चिम राजमार्गमा पनि खाल्डाखुल्डीका कारण सवारी आवागमन प्रभावित भइरहेको छ भने दैनिकजसो दुर्घटना भइरहेका ट्राफिक प्रहरीले जनाएको छ ।