बाल दिवसमा वतृत्वकलादेखि प्रभातफेरिसम्मका कार्यक्रम

मलंगवा – ५७ औँ राष्ट्रिय बाल दिवस मंगलवार सर्लाहीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ ।


दिवसका अवसरमा नेपाल बाल संगठन सर्लाहीले सदरमुकाम मलंगवास्थित बाल मन्दिर परिसरमा झण्डोतोलनसहित प्रभातफेरि निकालेको छ । संगठनका जिल्ला सभापति समिम बाबु खानको अध्यक्षता तथा मलंगवा नगरपालिकाका मेयर निरसल साहको प्रमुख आतिथ्यता एवं उपमेयर शान्ति शबनम मिकरानी, जिल्ला सरकारी वकिल कार्यालय मलंगवाका प्रमुख केशव प्रसाद गौतम, जिल्ला प्रहरी कार्यालय मलंगवाका डीएसपी माधव प्रसाद बुढाथोकी लगायतको आतिथ्यतामा कार्यक्रम गरिएको हो ।


राष्ट्रिय बाल दिवसका अवसरमा ग्रामीण नारी उत्थान संघले ईश्वरपुर नगरपालिकामा १५ वटै वडामा हाजिरीजवाफ, वतृत्वकला, लेखन लगायतका कार्यक्रम गरी ३०० सय विद्यार्थीलाई पुरस्कृत गरेको छ । कार्यक्रमको ईश्वरपुर ६ स्थित नारायण माध्यमिक विद्यालयमा प्रधानाध्यापक फणिराज बरालको अध्यक्षता तथा मेयर मनोज कुमार देवकोटाको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हो ।


त्यस्तै, दिवसकै अवसरमा कविलासी नगरपालिका–४, हेमपुरमा रहेको जानकी दास जनता माध्यमिक विद्यालयमा वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक सुरेश कुमार रायको अध्यक्षतामा विद्यार्थीहरुबीच ‘बाल अधिकार, हाम्रो सरोकार’ विषयक वतृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।


कार्यक्रममा कक्षा १० की कविता कुमारी यादव पहिलो, कक्षा १० कै निसा कुमारी यादव दोस्रो र कक्षा ७ का रामव्रिmस यादव तेस्रो भएका छन् । उनीहरुलाई पुरस्कार स्वरुप शैक्षिक सामग्री वितरण गरिएको कार्यक्रमका उद्घोषक एवं विद्यालयका शिक्षक रामवरण चौधरीले जानकारी दिए ।


त्यसैगरी, बाल दिवसको अवसरमा बाल संरक्षण संस्था लालबन्दीले नगरपालिकाको महिला, बालबालिका शाखाकी दुर्गा आचार्य खरेलको आतिथ्यतामा १६ जना छात्रालाई छात्रावृत्ति स्वरुप विद्यालय पोसाक, झोला लगायतका शैक्षिक सामग्री प्रदान गरेको संस्थाकी अध्यक्ष मुना उपाध्यायले जानकारी दिईन् । त्यसैगरी, राष्ट्रिय बाल दिवसका अवसरमा लालबन्दी नगरपालिका–६, मा रहेको प्रेमज्योति आधारभूत विद्यालयले १ देखि ५ सम्मका दलित तथा सम्पूर्ण छात्राहरु गरी ६५ जनालाई जनही ४ सय रुपैयाँका दरले नगद छात्रावृत्ति वितरण गरेको विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद आचार्यले बताए ।


‘सामान्य अवस्था वा कोभिड महामारी : बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका साथ मंगलवार परेको ५७ औं राष्ट्रिय बाल दिवसका अवसरमा जिल्लाका अन्य स्थानहरुमा पनि कार्यक्रमहरु गरिएका छन् ।