बरहथवा वितरण केन्द्रद्वारा विद्युत चुहावट नियन्त्रणमा तीव्रता

बरहथवा – सर्लाहीको बरहथवामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रले विद्युत् चुहावट नियन्त्रण कार्यलाई तीव्रता दिएको छ ।

वितरण केन्द्रले सुरक्षाकर्मीको सहयोग लिएर चुहावट नियन्त्रण अभियानलाई तीव्र पारेको हो । त्यसक्रममा विद्युत् चोरी गरेर संचालन गरिएका दजनौँ विद्युतीय उपकरण बरामद गरी जरिवाना तिराइसकिएको वितरण केन्द्रका प्रमुख जयानन्द झाले जानकारी दिए ।

झाका अनुसार मंगलवार बिहान पनि विद्युत् चोरी गरेर संचालन गरिएका विभिन्न उपकरणहरु बरामद गरिएको छ । बरहथवा वितरण केन्द्र अन्तर्गत पर्ने मानपुर, महिनाथपुर र हरिपूर्वाबाट पानी तान्ने मोटर तीन थान, सिलिङ पङ्खा १७ थान, टेबल पङ्खा चार थान, साउण्ड सिस्टम दुई थान, टेलिभिजन एक थानसहित अन्य विद्युतीय उपकरणहरु बरामद गरिएको वितरण केन्द्रका प्रमुख झाले बताए ।

३० प्रतिसत विद्युत चुहावट रहेको बरहथवा वितरण केन्द्रले मिटर नराखी बिजुली चोरी गरेर संचालन गरिएका उपकरणहरु दिनहुँजसो बरामद गरिरहेको छ । बरामद गरिएको उपकरणहरु विद्युत् चोरी नियन्त्रण नियमावली २०५९ अनुसार जरिवाना तिराएर मात्रै छाडिने वितरण केन्द्रले जनाएको छ ।

यस्तै, सदरमुकाम मलङ्गवास्थित वितरण केन्द्रले पनि मंगलवार बिहान विद्युत् चोरी गरेर विद्युतीय उपकरण चलाउने ८ जनालाई पक्राउ गरी जरिवाना तिराएर छाडेको छ । जिल्लामा दक्षिणी भेगका ग्रामीण बस्तीहरुमा धेरै मात्रामा विद्युत् चुहावट हुने गरेको पाइएको छ ।