कार्यकर्ता रिहाईको माग गर्दै विप्लव समूहले सीडीओमार्फत सरकारलाई ज्ञापन पत्र बुझायो

46
प्रमुख जिल्ला अधिकारी राम कुमार महतोलाई ज्ञापन पत्र बुझाउँदै विप्लव समूहका नेताहरु । (तस्बीर : उज्यालो अभियान)

मलंगवा – नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सर्लाहीले वुधवार प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

२०७७ साल फागुन २१ गते सरकारसँग भएको तीन बुँदे सहमति कार्यान्वयन, नेता कार्यकर्तामाथि लगाइएको झुठा मुद्धा खारेज र जेलमा रहेका नेता तथा कार्यकर्ताहरु रिहाईको माग गर्दै प्रमुख जिल्ला अधिकारी रामकुमार महतोमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाइएको हो । तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन गएको फागुन २१ गते ३ बुँदे सहमति गरेको थियो ।

सो सहमति अनुसार आफ्ना नेता कार्यकर्ता हिरासतमुक्त नभएका र उनीहरुमाथि झुठा मुद्दा रहीरहेकाले यसबारेमा देशैभरबाट ज्ञापन पत्र बुझाएर सरकारको ध्यानाकर्षण गराइएको विप्लव समूहका नेता विचारमान थिङले जानकारी दिए । उनका अनुसार जनकपुर ब्यूरोमा पर्ने सर्लाही, महोत्तरी, सिन्धुली, सिरहा, धनुषा र सप्तरीमा राजन बस्नेत, आदम कवाडी लगायतका नेताहरु हिरासतमै रहेका छन् ।

जिल्ला प्रशासन कार्यालय मलंगवामा ज्ञापन पत्र बुझाउन नेता थिङसँगै ठगा राम, पदम मगर, रवी लामा लगायत सदरमुकाम मलंगवा पुगेका थिए ।