समाजवादी नेता उप्रेतीद्वारा आफूले पाएको सम्पूर्ण सेवा सुविधा बराबरको ट्रष्ट स्थापना गर्ने घोषणा

नेता डिल्लीप्रसाद उप्रेती ।

हरिवन – भर्खरै नेकपा एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका नेता एवं प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेतीले सामाजिक कामका लागि ट्रष्ट स्थापना गर्ने घोषणा गरेका छन् ।

आईतबार हरिवनमा समाजवादीको जिल्ला भेलालाई सम्बोधन गर्दै नेता उप्रेतीले तत्कालिन हरिवन गाउँपालिकाको उपाध्यक्ष, अध्यक्ष र हाल प्रदेश सांसद् हुँदा पाएको सेवा सुुविधा बराबरको ट्रष्ट स्थापना गर्ने घोषणा गरेका हुन् । ‘मैले गाविसको अध्यक्ष र उपाध्यक्ष हुँदा पाएको भत्ता अनि प्रदेश सांसद्को रुपमा अहिलेसम्म पार्टीलाई लेबी बुझाएर बँचेको र प्रदेश सांसद्कै रुपमा पछिसम्म आउने सेवा सुविधा बराबरको हिसाब गरेर ट्रष्ट स्थापना गर्ने घोषणा गरेको हुँ’, नेता उप्रेतीले उज्यालो अभियानसँग कुरा गर्दै भने, ‘पीए लगायतलाई छुट्टयाईएको छाडेर मैले व्यक्तिगत बुझेको र अब बुझ्ने गर्दा २५–३० लाख रुपैंया हुन्छ होला, त्यो रकम बराबरको अक्षयकोष सहित केही दिनमै ट्रष्ट स्थापना गरिदिन्छु ।’

उनले ट्रष्टको नाममा रहने अक्षयकोषको ब्याजबाट विद्यार्थीलाई छात्रवृत्ति लगायत विभिन्न सामाजिक कार्य गरिने जानकारी दिए । उप्रेती साबिक हरिवन गाविसमा २०४९ सालदेखि २०५४ सालसम्म उपाध्यक्ष तथा २०५४ देखि २०५९ सालसम्म अध्यक्ष भएका थिए भने २०७४ सालदेखि प्रदेश सांसद्को जिम्मेवारीमा छन् । केही वर्षअघि नेकपा एमालेको कार्यबाहक जिल्ला अध्यक्ष समेत भएका उप्रेती लामो समयदेखि वामपन्थी आन्दोलनमा सकृय छन् । नेकपा एमाले फुटेपछि भने उनी माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीतर्फ लागेका छन् ।

अस्वस्थ भएपछि उनी भारतको दिल्लीमा उपचार गराईरहेका थिए । केही दिनअघि मात्र उनी हरिवन स्थित घर फर्किएको र फेरि केही दिनभित्रै थप उपचारका लागि दिल्ली जाने बताईएको छ ।