नेकपा एकीकृत समाजवादीको जिल्ला भेला सम्पन्न, सचिबको विवादले पदाधिकारी चयन हुन सकेन

जिल्ला भेलामा उपस्थित नेता कार्यकर्ताहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – नेकपा एकीकृत समाजवादी पार्टीको सर्लाही जिल्ला स्तरीय कार्यकर्ता भेला आईतबार दिउँसो सम्पन्न भएको छ ।

अध्यक्ष, सचिब लगायत पदाधिकारी सहित जिल्ला नेतृत्व चयन गर्ने उद्धेश्यका साथ भेला आयोजना गरिएपनि पदाधिकारी घोषणा नगरी भेला सम्पन्न गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश दुई अध्यक्ष रामचन्द्र रायले सम्बोधन गर्ने क्रममा ३५१ सदस्यीय जिल्ला कमिटी कायम भएको घोषणा गरेका थिए । हाल पदाधिकारी बाहेकको ३५१ सदस्यीय जिल्ला कमिटी घोषणा गरिएको र भोली (सोमबार) प्रदेश कमिटीबाट अध्यक्ष, सचिब लगायत पदाधिकारीहरुको नामावली सार्वजनिक गर्ने प्रदेश अध्यक्ष यादवले घोषणा गरेको समाजवादी हरिवन नगर कमिटीका अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिए ।

जिल्ला सचिबमा सहमति जुट्न नसकेपछि पदाधिकारीको घोषणा हुन नसकेको एक नेताले जानकारी दिए । भेलामा स्थानीय नेताहरुले सम्बोधन गरिरहेको समयमा सम्राट होटलको एक कोठाभित्र प्रदेश कमिटी अध्यक्ष यादव, प्रदेश सचिब लक्ष्मण पौडेल, प्रदेश दुई संसदीय दलका नेता शत्रुधन महतो, प्रदेश सांसद् रविन्द्र बैठा, केन्द्रीय सदस्य एवं पर्सा जिल्ला ईन्चार्ज रामचन्द्र साह लगायतले पदाधिकारी चयन गर्न छलफल गरेपनि मुख्यगरी सचिब पदमा सहमति जुट्न नसकेको बताईएको छ ।

जिल्ला अध्यक्षमा भने नेता सुरेन्द्र लामाको नाममा करिब करिब सहमति भईसकेको र सचिबमा भने सहमति जुट्न नसकेको समाजवादीका एक नेताले दाबी गरे । एक नेताका अनुसार समाजवादीको जिल्ला सचिबमा नेकपा एमालेमा हुँदा सचिब रहेकी प्रदेश सांसद् बेची लुंगेली सहित अन्य नेताहरुको पनि दाबी आएपछि सहमति जुट्न नसकेको हो । नेकपा एमालेको निर्वाचित सचिब सहित समानान्तर कमिटीको समेत सचिब रहेकी प्रदेश सांसद् लुंगेली रुपान्तरण भएको समाजवादीको जिल्ला कमिटीमा स्वतः सचिब हुने कतिपय नेताहरुको धारणा रहेको छ । पार्टीका कतिपय नेताहरुले भने समुदाय, भूगोल लगायत मिलाएर पदाधिकारी घोषणा गर्नुपर्ने आवाज उठाएपछि तत्काल पदाधिकारी घोषणा हुन नसकेको एक नेताले जानकारी दिए ।

नेकपा एमालेमा तत्कालिन माधव नेपाल–झलनाथ खनाल समूहबाट घोषणा भएको ३५१ सदस्यीय समानान्तर जिल्ला कमिटीलाई नै समाजवादीको जिल्ला कमिटीमा रुपान्तरण गरिएको र एमालेमै बसेका पदाधिकारी एवं सदस्यहरुका कारण रिक्त रहेको पदहरुमा भने नयाँ अनुहारहरुलाई समेटेर कमिटीलाई पूर्णता दिईने पार्टीका प्रदेश सचिब एवं सर्लाही ईन्चार्ज लक्ष्मण पौडेलले जानकारी दिए । पौडेलका अनुसार भोली (सोमबार) लालगढमा बस्ने प्रदेश कमिटीको सचिवालय स्तरका नेता, प्रदेश भित्रका केन्द्रीय सदस्य, प्रदेश सांसद्हरु लगायतको बैठकले सर्लाही जिल्ला कमिटीको पदाधिकारी घोषणा सहित अन्य विभिन्न जिल्लाहरुको बारेमा समेत निर्णय गर्नेछ ।

सर्लाहीमा अध्यक्ष, सचिब लगायत पदाधिकारी चयनमा कुनै विवाद एवं समस्या नरहेको समेत पौडेलले दाबी गरे । ‘पदाधिकारी चयनमा कुनै विवाद र समस्या छैन’, प्रदेश सचिब पौडेलले दाबी गरे, ‘हतार गरेर नाम घोषणा गर्दा भोली म एमालेमै छु भनेर सामाजिक संजालमा राख्ने प्रवृत्ति देखिएको र भोलीसम्ममा जिल्ला कमिटीमा रुपान्तरण भएको समानान्तर कमिटीका कतिजना साथिहरु यता आउनुभयो र कतिजना आउनुभएन भन्ने निर्क्यौल गर्नेछौं र घोषणा पनि गर्नेछौं ।’ नेपाल–खनाल समूहमा सकृय जिल्ला अध्यक्ष रेवती पन्त सहित समानान्तर जिल्ला कमिटीका कतिपय नेता कार्यकर्ताहरु एमालेमै बसेका कारण रुपान्तरण भएको कमिटीको खाली पदमा पदाधिकारी चयन हुने पार्टीले जनाएको छ ।

यो पनि पढ्नोस्

एकीकृत समाजवादीको भेला हरिवनमा जारी, जिल्ला नेतृत्व चयन हुँदै

समाजवादी नेता उप्रेतीद्वारा आफूले पाएको सम्पूर्ण सेवा सुविधा बराबरको ट्रष्ट स्थापना गर्ने घोषणा

समाजवादीतर्फ लागेका नेकपा एमालेका तत्कालिन जिल्ला उपाध्यक्ष देवेन्द्र रायको अध्यक्षतामा हरिवनको सम्राट पार्टी प्यालेसमा आयोजित भेलामा समाजवादीका प्रदेश दुई अध्यक्ष रामचन्द्र रायको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेश दुई सचिब लक्ष्मण पौडेल, प्रदेश दुई संसदीय दलका नेता शत्रुधन महतो, केन्द्रीय नेता नागेन्द्र चौधरी, केन्द्रीय सदस्य एवं पर्सा जिल्ला ईन्चार्ज रामचन्द्र साह, रविन्द्र बैठा, महिला नेतृ गोमा विष्ट, प्रदेश सांसद् डिल्ली प्रसाद उप्रेती, नेता सुरेन्द्र लामा लगायतको आतिथ्यता रहेको थियो । प्रदेश सांसद् एवं महिला नेतृ बेची लुंगेलीको सञ्चालन रहेको कार्यक्रममा उल्लेख्य संख्यामा नेता कार्यकर्ताहरु उपस्थित थिए ।