एकीकृत समाजवादीको भेला हरिवनमा जारी, जिल्ला नेतृत्व चयन हुँदै

कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – नेकपा एकीकृत समाजवादी पार्टीको सर्लाही जिल्ला स्तरीय कार्यकर्ता भेला अहिले (आईतबार दिउँसो) हरिवनमा चलिरहेको छ ।

कार्यक्रममा उपस्थित नेता कार्यकर्ताहरु । (तस्बिर : उज्यालो अभियान)

जिल्ला नेतृत्व चयन नभईसकेकाले समाजवादीले नेकपा एमालेका तत्कालिन जिल्ला उपाध्यक्ष देवेन्द्र रायको अध्यक्षतामा पहिलो जिल्ला भेला आयोजना गरेको छ । हरिवनको सम्राट पार्टी प्यालेसमा आयोजित भेलामा समाजवादीका प्रदेश दुई अध्यक्ष रामचन्द्र रायको प्रमुख आतिथ्यता रहेको छ भने प्रदेश दुई सचिब लक्ष्मण पौडेल, प्रदेश दुई संसदीय दलका नेता शत्रुधन महतो, केन्द्रीय नेता नागेन्द्र चौधरी, केन्द्रीय सदस्य एवं पर्सा जिल्ला ईन्चार्ज रामचन्द्र साह, रविन्द्र बैठा, महिला नेतृ गोमा विष्ट, प्रदेश सांसद् डिल्ली प्रसाद उप्रेती, नेता सुरेन्द्र लामा लगायतको आतिथ्यता रहेको हरिवन नगर कमिटीका अध्यक्ष चूडामणि वाग्लेले जानकारी दिए ।

प्रदेश सांसद् एवं महिला नेतृ बेची लुंगेलीको सञ्चालन रहेको कार्यक्रममा उल्लेख्य संख्यामा नेता कार्यकर्ताहरुको उपस्थिती रहेको छ । पार्टी प्यालेस भित्र नअटेर नेता कार्यकर्ताहरु बाहिर तथा सम्राट होटल लगायत शितल छहारी मुनी बसिरहेका छन् । कार्यक्रममा स्वयंसेवक परिचालन लगायत व्यवस्थापनको नेतृत्व गरिरहेका युवा संघ नेपाल सर्लाहीका अध्यक्ष जय गोलेले सोचेभन्दा बढी नेता कार्यकर्ता कार्यक्रममा आएको बताए ।

सर्लाही जिल्ला नेतृत्व चयन गर्ने उद्धेश्य सहित राखिएको भेलामा उत्तरी क्षेत्रका मात्र हैन दक्षिणी क्षेत्रबाट समेत पूर्व एमाले नेता कार्यकर्ताहरुको सहभागिता देखिएको छ । पहिलो कार्यक्रम भएको र नेकपा एमाले छाडेर नेता कार्यकर्ताहरुको उपस्थिती धेरै नहोला भन्ने त्रासले पार्टी प्यालेसमा कार्यक्रम राखिएको तर सोचेभन्दा बढी नेता कार्यकर्ताहरु एमाले छाडेर समाजवादीतिर आएकाले कार्यक्रम स्थल निकै साँघुरो महसुस भएको एक नेताले जानकारी दिए ।

पार्टी स्रोतका अनुसार सुरेन्द्र लामाको अध्यक्षतामा जिल्ला नेतृत्व चयन हुने सम्भावना छ । तथापी आज (आईतबार) भेला सक्ने र भोली (सोमबार) प्रदेश कमिटीले जिल्ला नेतृत्व घोषणा गर्ने सम्भावना समेत रहेको एक नेताले जानकारी दिए ।