वल्ड भिजनको कार्यक्रम अनुगमन

अनुगमनका क्रममा आईतबार दिउँसो परियोजना अन्तर्गत विद्यार्थीलाई शैक्षिक लगायत सामग्री प्रदान गर्दै जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी तथा अन्य सहभागिहरु । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – जिल्लाको पूर्वी–दक्षिण क्षेत्र अन्तर्गत हरिपूर्वा नगरपालिका र पर्सा गाउँपालिकामा सञ्चालित विभिन्न परियोजनाको आईतबार स्थलगत अनुगमन गरिएको छ ।

अष्ट्रेलियन सरकारको आर्थिक सहयोग तथा वल्ड भिजन ईन्टरनेसनल नेपालको प्राविधिक सहयोगमा राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र(आरआरपीके) मलंगवा र वागमती सेवा समाज नेपाल हरिवनसँगको साझेदारीमा सञ्चालित विभिन्न परियोजना अन्तर्गत भए गरेका कार्यक्रम तथा भौतिक संरचनाको आईतबार दिनभर अनुगमन गरिएको हो । सिकाई परियोजना अन्तर्गत हरिपुर्वा नगरपालिका–९ स्थित राम जानकी माविको ४९ लाख ७४ हजार ३९२ रुपैंयामा निर्माण भएको २ कोठे विद्यालय भवन र बालमैत्री तथा अपाङ्गतामैत्री पक्की शौचालय भवन, वडा नं. ८ मा पोषण परियोजना अन्तर्गत १५ लाखको लागतमा निर्माण भएको गाउँ घर क्लिनीक भवन, पर्सा गाउँपालिका–१ स्थित प्राथमिक विद्यालय सितलपुरको ३६ लाख ४३ हजार ३६९ रुपैंयामा निर्माण भएको २ कोठे पक्की भवन, वडा नं. २ अन्तर्गत नेरा बैजु जनता मावि सग्रामपुरको ३६ लाख २७ हजार ३३४ रुपैंयाको लागतमा निर्माण भएको २ कोठे भवन तथा विद्यालयहरुमा बसाई व्यवस्थापन सामग्री तथा शैक्षिक सामग्रीहरुको अवलोकन समेत गरिएको थियो ।

हरिपुर्वा नगरपालिकामा सिकाई परियोजना अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन हुँदा शिक्षा क्षेत्रमा क्रमिक रुपमा सुधार भइरहेको शिक्षा शाखा प्रमुख जनक काफ्लेले जानकारी दिए । अनुगमनमा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरी, प्रमुख जिल्ला अधिकारी रामकुमार महतो, शिक्षा तथा समन्वय ईकाई शाखाका प्रमुख रामआधार कुशवाहा, कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेव कुशवाहा, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका दिलिप सिंह, बागमती सेवा समाज नेपालका अध्यक्ष भरतकुमार कार्की, आरआरपीकेका अध्यक्ष शिवजी कुमार साह, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । अब केही दिनभित्रै जिल्ला परियोजना सल्लाकार समितिका सदस्यहरुलाई राखेर आर्थिक वर्ष २०७७/०७८ भित्र भएका कार्यक्रमहरुको प्रगति विवरण प्रस्तुत गरिने आरआरपीकेका अध्यक्ष साहले जानकारी दिए ।