बागमती सिंचाईमा डा. पाठक आए, बरालको सुनकोशी मरिनमा सरुवा

एकअर्कालाई ढाकाटोपी लगाएर सम्मान प्रकट गर्दै बागमती सिंचाई आयोजनाका तत्कालिन प्रमुख मित्र बराल (बायाँ) र नयाँ प्रमुखको रुपमा आएका डा. कृष्णराज पाठक । (तस्बिर : उज्यालो अभियान)

बागमती – बागमती सिंचाई आयोजना कर्मैयाको प्रमुखको रुपमा डा. कृष्णराज पाठक आएका छन् ।

नयाँ आएका प्रमुख डा. कृष्णराज पाठक तथा प्रमुखबाट सरुवा भएर जान लागेका मित्र बराल सहित आयोजनाका कर्मचारीहरु । (तस्बिर : उज्यालो अभियान)

उनी समृद्ध तराई मधेश सिंचाई विशेष कार्यक्रम जावलाखेलबाट बागमती सिंचाई आयोजनाको प्रमुखमा सरुवा भई आएका हुन् । सिंचाई मन्त्रालयले पाठकलाई कायममुकायम आयोजना प्रमुखको रुपमा जिम्मेवारी दिएको छ ।

त्यस्तै बागमती सिंचाई आयोजनाका तत्कालिन प्रमुख मित्र बरालको भने राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको सुनकोशी मरिन डाईभर्सन बहुद्धेशीय आयोजना निर्देशकमा रुपमा सरुवा भएको छ । २०७६ भदौदेखि बागमती सिंचाई आयोजनाको प्रमुखको रुपमा जिम्मेवारी सम्हालेका बरालले यसअघि पनि सुनकोशी मरिन डाईभर्सन बहुद्धेशीय आयोजनामा काम गरेका थिए । सुनकोशी मरिन डाईभर्सन बहुद्धेशीय आयोजना अन्तर्गत सुनकोशीको पानी टनेलमार्फत मरिनखोलाको बायाँ किनारमा निर्माण हुने विद्युत उत्पादन गृहमा खसाल्ने र पावरहाउसको टर्बाईनमा खसालिने पानी बागमती नदीमा पठाईने छ । बागमती सिंचाई आयोजनाबाट हाल सर्लाही र रौतहटका ४५ हजार हेक्टर क्षेत्रफलमा सिंचाई सुविधा पुगेको र सुनकोशी मरिन डाईभर्सन मार्फत बागमती नदीमा थपिने पानीबाट बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका थप ७७ हजार हेक्टर क्षेत्रफलमा भरपर्दो सिंचाई सुविधा पुर्याउने लक्ष्य राखिएको आयोजना स्रोतले जनायो । हाल जावलाखेलमा रहेको आयोजनाको कार्यालय यसै साता सिन्धुलीमा सारिने बरालले जानकारी दिए ।

यसैबीच आयोजनाका कर्मचारीहरुले तत्कालिन प्रमुख बराललाई बिदाई सम्मान तथा नयाँ प्रमुखको रुपमा आएका डा. पाठकलाई स्वागत सम्मान समेत गरेका छन् । आईतबार दिउँसो आयोजना कार्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच पूर्व प्रमुख बरालले समेत डा. पाठकलाई स्वागत सहित बधाई दिएका थिए । पूर्व प्रमुख बराल र नयाँ आएका प्रमुख डा. पाठकले एकअर्कालाई ढाकाटोपी लगाईदिएर स्वागत एवं बिदाई स्वरुप सम्मान प्रकट गरेको आयोजनाका ईन्जिनियर विजय रेग्मीले जानकारी दिए । पूर्व प्रमुख बरालले बागमती सिंचाई आयोजनामा काम गर्दा साथ, सहयोग र सद्भाव प्रकट गर्ने कर्मचारी सहित सरोकारवाला सम्पूर्ण तह र तप्काप्रति आभार प्रकट गरेका छन् । नयाँ प्रमुखको रुपमा आएका डा. पाठकले पनि आयोजनाका कर्मचारी सहित सरोकारवाला सबैको साथ, सहयोग र सद्भावको अपेक्षा गरेका छन् । सरोकारवाला सबै पक्ष, तह र तप्कासँगको समन्वयमा आयोजनाको काम कार्बाही अगाडी बढाईने डा. पाठकले धारणा राखेको एक कर्मचारीले बताए