सिलिण्डरमा लुकाएर लागूऔषध भित्र्याएको आरोपमा सर्लाहीबाट दुई भारतीय पक्राउ

लागूऔषधको रुपमा प्रयोग हुने वीनसीरेक्सका बोतल लुकाईएको ग्याँस सिलिण्डर सहित सशस्त्र प्रहरीले पक्राउ गरेको दुई भारतीय नागरिक । (तस्बिर स्रोत : सशस्त्र प्रहरी बल)

मलंगवा – खाना पकाउने ग्याँस सिलिण्डरमा लुकाएर लागूऔषधको रुपमा प्रयोग हुने औषधी नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा दुईजना भारतीय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल सर्लाहीले जनाएको छ ।

शुक्रबार दिउँसो भारतबाट मलंगवातर्फ ग्याँस सिलिण्डर बोकेर नेपालतर्फ आउँदै गरेका भारतको सितामाढी जिल्ला रुवी सैदपुर थाना निवासी ६३ वर्षीय सुरेन्द्र राउत र सोही ठाउँ घर भएका ३२ वर्षीय नेता शर्मालाई खोकीको औषधीको रुपमा प्रयोग हुने नेपालमा प्रतिबन्धित वीनसीरेक्स ९४ बोतल सहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल १० नम्बर गण कबिलासीका गणपति सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए । सप्रउ श्रेष्ठका अनुसार बोर्डर आउट पोष्ट मलंगवाको टोलीले ग्याँस सिलिण्डर बोकेर आएका दुवैजनालाई शुक्रबार दिउँसो साँढे ३ बजे ३२५ नम्बरको सीमा स्तम्भ नजिक रोकेर चेकजाँच गर्दा सिलिण्डरको तलपट्टी कालोटेपले टाँसेर सय मिलिलिटर दरका ९४ वटा बोतलहरु प्याक गरिएको अवस्थामा फेला परेको थियो । एउटा सिलिण्डरमा ४८ तथा अर्को सिलिण्डरमा ४६ वटा बोतलहरु फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद् ग्याँस सिलिण्डर र लागूऔषध सहित पक्राउ परेका दुवैजना भारतीय नागरिकलाई आवश्यक कार्बाहीका लागि जिल्ला प्रहरी कार्यालय मलंगवाको जिम्मा लगाईएको सप्रउ श्रेष्ठले जानकारी दिए । सुरक्षाकर्मीले कडाई गर्दै गएपछि पछिल्लो समय लागूऔषध कारोबारी एवं सेवनकर्ताले मोटरसाईकल र साईकलको टायर, टिउ, तरकारीको बोरा, ग्याँस सिलिण्डर लगायतमा लुकाएर भारतबाट नेपालतर्फ भित्र्याउने उपाय थालेका छन् ।

भारतमा खुला रुपमा किनबेच हुने कोरेक्स, वीनसीरेक्स लगायत खोकीका औषधीहरु नेपालमा भने प्रतिबन्धित रहेको छ । लागूऔषधको रुपमा प्रयोग बढ्दै गएपछि भारतमा उत्पादन हुने विभिन्न औषधीहरु नेपालमा प्रतिबन्ध लगाईएको हो ।