सर्लाही तेक्वान्दो संघको नयाँ नेतृत्व चयन

नवलपुर – नेपाल तेक्वान्दो संघ सर्लाहीको नयाँ नेतृत्व चयन भएको छ ।

शनिवार लालबन्दी नगरपालिका–१, नवलपुरमा सम्पन्न जिल्ला अधिवेशनबाट पुनः खड्गबहादुर सापकोटा (बद्री) अध्यक्ष रहने गरी संघको १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको हो । नवगठित कार्य समितिमा स्रिष्टी घिमिरे र सन्तोष देवकोटा उपाध्यक्ष, संस्कार साह सचिव, जीतबहादुर लामिछाने सहसचिव, दीपककुमार श्रेष्ठ कोषाध्यक्षसहित अन्य सदस्यहरु रहेका छन् ।

संघको यसअघि पनि सापकोटाकै नेतृत्वमा जिल्ला कार्य समिति रहेको थियो । लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्काको प्रमुख आतिथ्यतामा जिल्ला अधिवेशनको उद्घाटन गरी सर्वसम्मत् रुपमा नयाँ नेतृत्व चयन गरिएको नवगठित सर्लाही जिल्ला तेक्वान्दो संघका कोषाध्यक्ष दीपक कुमार श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य गुरु प्रसाद गौतम, प्रदेश प्रतिनिधि राजकुमार लामा, प्रदेश उपाध्यक्ष लक्ष्मण भण्डारी, तेक्वान्दोका प्रशिक्षक तथा खेलाडीलगायतको उपस्थिति रहेको थियो ।