सशस्त्र प्रहरी हरिवनले समात्यो काठमाडौं तस्करी हुँदै गरेको लाखौंको सामान

5

हरिवन – सशस्त्र प्रहरी बल हरिवनको टोलीले दुई दिनयता काठमाडौं तस्करी हुँदै गरेको अवस्थामा बहुमुल्य सहित लाखौंको विभिन्न सामानहरु नियन्त्रणमा लिएको छ ।

भर्खरै सशस्त्र प्रहरी बल हरिवन बेसको प्रमुख बनेर आएका सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) दिपेन्द्र थापा नेतृत्वको टोलीले धमाधम तस्करीका सामानहरु समातेको हो । सोमबार र मंगलबार गरेर हरिवन सशस्त्रको टोलीले २८ लाख ३ हजार १७० रुपैंया बराबरको अवैध सामान नियन्त्रणमा लिएर आवश्यक कार्बाहीका लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।

यो पनि पढ्नोस्

सर्लाहीबाट सशस्त्र प्रहरीले फेला पार्यो अनौठो ढुंगा र पदार्थ

गत सोमबार सदरमुकाम मलंगवाबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ५ ख २७७० नम्बरको न्यू सम्पूर्ण डिलक्स रात्रीबसबाट बरामद् भएको भनिएको अनौठो ढुंगा सिम्रिक रहेको खुलेको छ । ४५ केजी ७५० ग्राम तौल रहेको उक्त सिम्रिकको १३ लाख ७३ हजार ५५० रुपैंया मुल्यांकन गरेर भन्सार कार्यालय बुझाईएको सप्रनाउ थापाले जानकारी दिए । कोईलाखानीमा खन्दै जाँदा निकै तल पुगेपछि पाईने सिम्रिक प्रजातिको ढुंगा आयुर्वेदिक औषधी बनाउन अत्यन्त उपयोगि हुने र बजारमा तोलाको ५०० रुपैंयामा किनबेच हुने गरेको सप्रनाउ थापाको दाबी छ ।

सोही बसबाट बरामद् ५९७ केजी चिनीको ३५ हजार ८२० रुपैंया, एक हजार ६८० पिस पुरुष सेण्डो भेष्टको १ लाख ३४ हजार ४०० रुपैंया, कुर्ता सुरुवाल ३४४ पिसको २ लाख ६ हजार ४०० रुपैंया र लेडिज टप्स ७०० पिस २ लाख ४५ हजार रुपैंया रुपैंया मुल्यांकन गरेर भन्सार कार्यालय बुझाईएको सप्रनाउ थापाले जानकारी दिए । सोही बसबाट बरामद् एउटा शिलप्याक ग्यालेन भने परीक्षणका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशाला पठाईएको छ । ५ लिटर जत्रो ग्यालेनको तौल भने ४० केजी हाराहारी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै सप्रनाउ थापा नेतृत्वको टोलीले मंगलबार राती सर्लाहीको बयलबासबाट काठमाडौं जाँदै गरेको ना. २६ ख २६८२ नम्बरको मुसाफिर यातायात नामक रात्रीबसबाट ९०० थान पर्स (मनिब्याग) नियन्त्रणमा लिएको छ । कागजात बिनाको उक्त पर्सको ३ लाख ६० हजार मुल्यांकन गरेर बुधबार (आज) नै भन्सार कार्यालय बुझाईएको सप्रनाउ थापाले जानकारी दिए ।

बरामद् सबै सामानहरु भारतबाट सर्लाहीको विभिन्न नाका हुँदै भित्रिएको र सर्लाहीबाट पुनः काठमाडौंतर्फ लैजाँदै गरेको अवस्थामा बरामद् भएको सशस्त्र प्रहरीले जनाएको छ ।