सर्लाहीबाट सशस्त्र प्रहरीले फेला पार्यो अनौठो ढुंगा र पदार्थ

7
सशस्त्र प्रहरीले बरामद् गरेको अत्यन्त गह्रुंगो शिल्डप्याक ग्यालेन ।

हरिवन – सर्लाहीको हरिवन स्थित सशस्त्र प्रहरी बल बेस क्याम्पको टोलीले सोमबार साँझ एक रात्रीबसबाट अनौठौ खालको ढुंगा जस्तो देखिने पदार्थ र अत्यन्त गह्रुंगो शिल्ड प्याक सामग्री फेला पारेको छ ।

दुध बोक्ने क्यान जस्तो ५ लिटर जत्रो भाँडामा शिल्डप्याक रहेको उक्त सामानको तौल भने ५० किलो भन्दा बढी भएको सशस्त्र प्रहरी बल हरिवन बेसक्याम्पका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक दिपेन्द्र थापाले जानकारी दिए । उक्त शिल्ड प्याक भाँडो भित्र विष्फोटक पदार्थ वा एसिड बनाउन प्रयोग हुने सामग्री रहेको अनुमान गरिएको छ । तथापी उक्त भाँडोको बाहिर भने corrosi लेखिएको सम्म बुझिन्छ र अन्य बाँकी अक्षर बुझिएको छैन । त्यस्तै साना साना दुई बोरामा अनौठो खालका ढुंगा जस्तो देखिने पदार्थ टुक्रा टुक्रा बनाएर राखिएको अवस्थामा बरामद् भएको छ ।

बरामद् कपडाका पोकाहरु ।

सदरमुकाम मलंगवाबाट काठमाडौँ जाँदै गरेको ना. ५ ख २७७० नम्बरको न्यू सम्पूर्ण यातायात नामक रात्री बसबाट सोमबार साँझ उक्त सामग्री बरामद् भएको हो । उक्त बसबाट पुरुषले लगाउने सेण्डो (भित्री) गञ्जी, महिलाले लगाउने कुर्ता सरुवाल, टप लगायत कपडा १६ बोरा, ७ बोरा चपरा (काठमा लगाउने एक प्रकारको पोलिस) र २० बोरा चिनी समेत बरामद् भएको छ । कपडा तस्करी भईरहेको सुराकीका आधारमा सशस्त्र प्रहरी नायव उपरीक्षक थापा नेतृत्वको टोलील हरिपुर नगरपालिका अन्तर्गत नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत जुटपानीमा चेकजाँच गर्दा उक्त रात्रीबसबाट अनौठो लाग्ने विभिन्न धातुजन्य सामग्री समेत बरामद् भएको थियो ।

ढुंगा जस्तो लाग्ने र शंकाष्पद् सामग्री नै बरामद् भएपछि सशस्त्र प्रहरी बल प्रदेश दुईका प्रमुख बर्दिबास स्थित छिन्नमस्ता बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्र प्रकाश गौतम आफै सोमबार साँझ हरिवन स्थित सशस्त्र प्रहरी बेस क्याम्प आएका थिए । सामानको निरीक्षण गर्न सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ समेत आएका थिए ।

बरामद् नौलो सामान अत्यन्त शंकाष्पद देखिएकाले नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि बुझाईने र अन्य बरामद् कपडा लगायत सामग्री पनि आवश्यक कार्बाही प्रकृयाका लागि नेपाल प्रहरीलाई बुझाईने सप्रनाउ थापाले जानकारी दिए । उक्त रात्रीबसमा यात्रु भएकाले बसलाई भने हाल छाडिएको र आवश्यक अनुसन्धानका लागि पुनः नियन्त्रणमा लिएर कार्बाही प्रकृया अगाडी बढाईने सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद् सबै सामानहरु भारतबाट तस्करी भएर सर्लाही भित्रिएको र सर्लाहीबाट पुनः काठमाडौंतर्फ लैजाँदै गरेको अवस्थामा बरामद् भएको सशस्त्र प्रहरी बलका डीआईजी गौतमले जानकारी दिए ।