सांसद डा. सिंहलाई कारवाही गर्न कांग्रेस ४ नम्वर क्षेत्रका नेता र जनप्रतिनिधिहरुको माग

3
सांसद डा. अमरेश कुमार सिंह

लालबन्दी – सर्लाहीमा नेपाली कांग्रेस ४ नम्वर क्षेत्रका जनप्रतिनिधि तथा नेताहरुले प्रतिनिधि सभाका सांसद डा. अमरेश कुमार सिंहलाई कारबाही गर्न माग गरेका छन् ।

सिंहलाई कारबाही नगरिए आफूहरुले पदबाट राजीनामा दिने उनीहरुले घोषणा गरेका छन् । पार्टीको क्रियाशील सदस्यता वितरणमा धाँधली भएको भन्दै सांसद डा. सिंहले अस्ती वुधवार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका थिए ।

कांग्रेसबाट प्रदेश सरकारमा मन्त्री बनेका प्रदेश सांसदसहित १२ जनाले बिहिवार साँझ पार्टी सभापति देउवालाई ध्यानाकर्षण पत्र पठाउँदै सांसद सिंहको तानाशाही र अधिनायकवादी प्रवृत्तिबाट ४ नंं. क्षेत्रका नेता÷कार्यकर्ता आतंकित भइसकेको भन्दै उनीमाथि कारबाहीको माग गरेका हुन् ।

पार्टीको विधि विधान अनुरुप कारबाही गरी वडादेखि क्षेत्रसम्मको निर्णयको इन्ट्री भएका क्रियाशील सदस्यता सदर गरिदिन माग गरिएको प्रदेश सभा सदस्य एवं प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहले बताए ।

मन्त्री सिंहसहित, प्रदेश सभा सदस्य उपेन्द्र प्रसाद कुशवाहा, क्षेत्रिय सभापति तथा धनकौल गाउँपालिकाका अध्यक्ष राम आश्रय साह, बसबरिया गाउँपालिका अध्यक्ष राम अयोध्या यादव, रामनगर गाउँपालिकाकी कार्यवाहक अध्यक्ष नितु कुमारी यादव, क्षेत्रिय सभापति हरेन्द्र सहनी, अशोक कुमार सिंह, बाल किशोर सिंह, उपेन्द्र महतो, लालबाबु महतो, बैजनाथ प्रसाद सिंह र राम एकवाल साहले संयुक्त रुपमा पठाएको पत्रमा डा. अमेरश कुमार सिंहविरुद्ध बिभिन्न आरोपहरु लगाइएको छ ।

सिंहको पार्टी विरोधी कृयाकलाप तथा व्यवहारले जिल्ला र क्षेत्रमा चिन्ताजनक स्थिति उत्पन्न गराएको उनीहरुको भनाइ छ । यस्तै, पार्टीको विधी, विधान, पद्धति र संगठनको निर्णयलाई सधैं बेवास्ता गरी कुल्चेर अगाडि बढ्न खोज्ने, पार्टीका कार्यक्रमहरुमा सहभागी नहुने, कांग्रेसको तर्फबाट निर्वाचित पालिकाहरुलाई आफू अनुकूल काम नगरेमा मुद्दा लगाइदिने धम्की दिने गरेको पत्रमा उल्लेख गरिएको छ ।

पटक–पटक आफ्नो संसदीय कोषको रकम हिनामिना गरी पार्टीलाई बदनाम गराउने, विपद र दैवी प्रकोपको बेला पनि एक पटक क्षेत्रमा नआउने र अहिले महाधिवेशनको लागि जिल्ला र क्षेत्रले संचालन गरेका कार्यक्रमहरुमा नआउने तर वडा, पालिका, प्रदेश, क्षेत्र, प्रतिनिधि सभामा क्षेत्र र जिल्ला कार्य समितिहरुले गरेका निर्णयहरुलाई नमानी कुल्चेर अगाडि बढ्न बिभिन्न जालझेल र तानाशाही प्रबृत्ति अबलम्बन गर्ने गरेको पत्रमा उल्लेख गरिएको छ ।

यसैगरी, सांसद डा. सिंहले आफ्नै परिवारका १३ जना सदस्यलाई क्रियाशील सदस्यता दिलाएका व्यक्तिलाई पनि बिनाकारण पार्टी कार्यालय सानेपामा अनसन बस्न लगाएको आरोप पनि लागेको छ । ४ नम्वर क्षेत्र अन्तर्गत बसबरिया गाउँपालिका १ मानपुरका रामगोबिन्द रायले आफ्ना परिवारका १३ जनालाई क्रियाशिल सदस्यता दिलाउँदा समेत उनी सांसद डा. सिंहकै उक्साहटमा विना कारण अनसनमा बसेको भन्दै वडा सभापतिले पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका छन् ।

क्रियाशील सदस्यता वितरणमा पार्टी जिल्ला सभापति नागेन्द्र कुमार रायले मनोमानी गरेको भन्दै पूर्व जिल्ला सभापति लक्ष्मण रायको नेतृत्वमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षिय नेताहरु पार्टी कार्यालय सानेपामा एक सातादेखि धर्नामा बसिरहेका छन् ।