पुष्पलालको स्मृतिमा एमाले सर्लाहीको दुई समूहद्वारा बेग्लाबेग्लै कार्यक्रम

एमाले दुवै समूहले गरेका कार्यक्रम ।

लालबन्दी – सर्लाहीमा नेकपा एमालेको दुई समूहले बिहिवार बेग्लाबेग्लै कार्यक्रम गरेर नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस मनाएका छन् ।

पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल समूहले लालबन्दी नगरपालिका–१५, परवानिपुर बोहोरे डाँडामा निर्मित पुष्पलालको स्मृति पार्क परिसरमा सरसफाई एवं वृक्षारोपण कार्यक्रम गरेको छ भने अध्यक्ष केपी शर्मा ओली समूहले लालबन्दी नगरपालिका–९, बस्तीपुरस्थित जनज्योति सामुदायिक वन परिसरमा वृक्षारोपण गरेको छ ।

परवानिपुरको कार्यक्रम पुष्पलाल स्मृति प्रतिष्ठान सर्लाहीका अध्यक्ष उद्धव पाठकको अध्यक्षता तथा नेपाल–खनाल समूह निकट जिल्ला कमिटी अध्यक्ष रेवती पन्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा नेताहरु केशव ढुङ्गाना, सुरेन्द्र लामा, प्रदेश सभा सदस्य द्वोय बेची लुङ्गेली र डिल्ली प्रसाद उप्रेती, लालबन्दी नगरपालिकाका मेयर मानबहादुर खड्का, हरिपुर नगरपालिकाका मेयर जमिरुद्धिन मन्सुर लगायतको आतिथ्यता रहेको थियो ।

नेपाल–खनाल समूहले पुष्पलालको स्मृति दिवस सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । सप्ताहव्यापी कार्यक्रमकै अवसरमा वरिष्ठ नेता माधव कुमार नेपालको प्रमुख आतिथ्यतामा बोहोरे डाँडामा निर्मित पुष्पलालको शालिक अनावरण गराइने प्रदेश सभा सदस्य एवं पार्टीकी जिल्ला कमिटी सचिव बेची लुङ्गेलीले जानकारी दिईन् ।

यस्तै, ओली समूहले जिल्ला कमिटीको आयोजनामा वृक्षारोपण कार्यक्रम गरेको छ । सो समूहका जिल्ला कमिटी अध्यक्ष राजनारायण साहको अध्यक्षता तथा संविधान सभा सदस्य हरि उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजित वृक्षारोपण कार्यक्रममा जिल्ला कमिटीका सचिव केदार खत्री, नेताहरु विदुर प्याकुरेल, राजकुमार उप्रेती, हरिवन नगरपालिकाका उपमेयर रेणुका पौडेल लगायतको आतिथ्यता रहेको थियो ।

ओली समूहले पुष्पलालको स्मृति दिवसकै अवसरमा ५ जना वृद्धहरुलाई दोसल्ला ओढाएर सम्मान समेत गरेको छ । सर्लाहीमा एमालेका दुवै समूहले आफ्नो कमिटी नै आधिकारिक रहेको दावी गर्दै आइरहेका छन् ।

नेपाल–खनाल समूहका जिल्ला अध्यक्ष रेवती पन्तले जिल्ला अधिवेशनबाट चुनिएको कमिटी आफूहरुको रहेको र दिवंगत नेताप्रति सम्मान व्यक्त गरेर जो कसैले कार्यक्रम गर्नु सकारात्मक पक्ष भएको उज्यालो अभियान दैनिकका समाचार प्रमुख जनार्जन खत्रीसँग बताए । वृक्षारोपण कार्यक्रमलाई सम्वोधन गर्दै पन्तले पार्टी पुनः एकतावद्ध हुने बताउँदै सबै नेता कार्यकर्तालाई संम्यमित हुन आग्रह गरे ।

यता, ओली समूहका जिल्ला अध्यक्ष राजनारायण साहले भने खत्रीसँगको कुराकानीमा जिल्लामा संस्थापन पक्ष आफूहरु रहेको र आफूहरुले नै गरेको कार्यक्रम आधिकारिक हुने दावी गरेका छन् ।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो । उनको निधन भएकै दिन पारेर एमालेले बर्सेनि स्मृति दिवस मनाउँदै आइरहेको छ ।