सर्लाहीमा कांग्रेसको क्रियाशील सदस्यता विवाद चर्किदै, नेता राय अनसनमा

फोटो क्याप्सन : केन्द्रीय पार्टी कार्यालय, सानेपामा धर्नामा बसेका नेता राम गोविन्द राय ।

लालबन्दी – सर्लाहीमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणको विवाद चर्किदै गएको छ ।


सोही विवादलाई लिएर प्रधानमन्त्री एवं केन्द्रीय पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेताहरुबीच आरोप–प्रत्यारोप पनि बढ्दै गएको छ । क्रियाशील सदस्यता वितरणमा जिल्ला सभापति नागेन्द्र कुमार रायले एकलौटी गरेको भन्दै वरिष्ठ नेता पौडेल निकट कांग्रेस सर्लाहीका नेताहरु केन्द्रीय पार्टी कार्यालय सानेपा, ललितपुरमा ६ दिनदेखि धर्नामा बसिरहेका छन् ।


पूर्व पार्टी जिल्ला सभापति लक्ष्मण रायको नेतृत्वमा पौडेल निकट नेताहरु धर्नामा बसेका हुन् । वुधवारबाट पौडेल निकट नेता बसबरिया गाउँपालिका–१, मानपुर निवासी महाधिवेशन प्रतिनिधि राम गोविन्द राय आमरण अनसनमै बसेका छन् ।


सर्लाही जिल्लाका पार्टी सभापति नागेन्द्र कुमार रायले ४ वटै निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यता वितरणमा अनियमितता गरेको आरोप लगाउँदै नेता राय वुधवार बिहान १० बजेबाट आमरण अनसनमा बसेका हुन् । पौडेल पक्षिय नेताहरुले नवप्रवेशीहरुलाई क्रियाशील सदस्यता वितरणमा प्राथमिकता दिएको, लामो समयदेखि पार्टीमा योगदान पु¥याएका पुराना नेता कायर्कर्ताहरुलाई बाइपास गरेको जस्ता आरोप लगाएका छन् ।


धर्नामा पार्टीका केन्द्रीय नेताहरु समेत उपस्थित भएर समर्थन जनाउनेक्रम चलिरहेको काठमाण्डौंमै रहेका नेपाल शिक्षक संघ सर्लाहीका पूर्व अध्यक्ष कौशल किशोर रायले उज्यालो अभियानका समाचार प्रमुख जनार्जन खत्रीसँग बताए ।


पौडेल पक्षिय नेताहरुको आन्दोलनमा सर्लाही क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य एवं कांग्रेस नेता डा. अमरेश कुमार सिंहले पनि समर्थन मनाएका छन् । क्रियाशील सदस्यताकै विवादलाई लिएर सांसद सिंहले पदबाट राजिनामा दिने चर्चा चलिरहेको छ ।


यता, केन्द्रीय पार्टी सभापति देउवा निकट मानिने जिल्ला सभापति नागेन्द्र कुमार रायले भने क्रियाशील सदस्यता वितरणमा कुनै मनोमानी नभएको र विधी सम्वत नै भएको दावी गर्दै आइरहेका छन् । वुधवार साँझ उज्यालो अभियानका समाचार प्रमुख खत्रीसँगको कुराकानीमा रायले आफू क्रियाशील सदस्यता छानविनका लागि तयार रहेको बताए ।


पार्टी जिल्ला सभापति राय, उपसभापति सुरेन्द्र सिंह, नेता वीरेन्द्र कुमार सिंह लगायतले मंगलवार रिपोर्टस् क्लब काठमाण्डौंमा पत्रकार सम्मेलन गरी क्रियाशील सदस्यतामा विवाद निकालेर केही नेताहरुले पार्टीलाई कमजोर पार्न खोजेको आरोप लगाएका थिए ।


क्रियाशील सदस्यताको विवादलाई लिएर अहिले सर्लाहीसहित धनुषा, बारा लगायत जिल्लाका नेताहरु पनि केन्द्रीय पार्टी कार्यालयमा पुगेर धर्नामा बसिरहेका छन् ।