बागमतीमा निर्माणाधीन भरत तालमा माछा मार्न गएका युवक डुबेर बेपत्ता

16
बागमतीमा निर्माणाधीन भरत ताल ।

बागमती – सर्लाहीको बागमती नगरपालिका–१२, मा निर्माणाधीन अवस्थामा रहेको भरत तालमा डुबेर एक युवक बेपत्ता भएका छन् ।

साथीहरुसँगै तालमा माछा मार्न गएका बागमती नगरपालिका वडा नं. १ बस्ने १८ वर्षीय सुशान्त थापा डुबेर बेपत्ता भएका हुन् । आज (शनिवार) अपरान्ह ४ बजेतिर तालमा डुबेर बेपत्ता भएका थापाको अहिले खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी जुटिरहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक कृष्ण गिरीले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए ।

थापासँगै अन्य ६/७ जना युवा पनि तालमा माछा मार्न गएका बुझिएको छ । थापा बाहेक अरु युवा सकुशल बाहिर निस्किएका प्रहरीले जनाएको छ ।

बागमती नगरपालिकाले १२१ बिघा क्षेत्रफलमा ताल निर्माण गरिरहेको छ । बागमती नदीको पानी ल्याएर हालिएका कारण तालमा माछा मार्नका लागि स्थानीयहरु पुग्ने गरेका छन् ।

यस्तै, सो तालमा घुमफिरका लागि पुग्नेहरु बढेका छन् ।