पुराना कम्युनिष्ट नेता कुशवारको अन्त्येष्टि

बागमती – सर्लाहीको बागमती नगरपालिका–१२, निवासी निकै पुराना कम्युनिष्ट नेता काजिराम कुशवारको सुक्रवार अन्त्येष्टि गरिएको छ ।

तत्कालिन कर्मैया गाविसका उपाध्यक्ष कुशवारको उपचारका क्रममा बिहिवार चितवनस्थित एक अस्पतालमा निधन भएको थियो । उनको पार्थिव शरीरलाई सुक्रवार बिहान घर छेउकै बागमती नदी किनारमा लगि अन्त्येष्टि गरिएको हो ।

६३ वर्षीय कुशवारलाई कोरोना संक्रमण भएको थियो । तर २६ दिन आइसियूमा राखेर उपचार गर्दा उनी संक्रमणमुक्त भइसकेका थिए ।

नेकपा एमाले सर्लाहीले आफ्ना पुराना नेताको निधनमा शोक वक्तव्य निकाल्दै दुःख व्यक्त गरेको छ । पार्टीका जिल्ला अध्यक्ष रेवती पन्तले निकालेको वक्तव्यमा नेता कुशवारको निधनले पार्टीले एक असल नेता र समाजले एक जना असल सेवक गुमाएको उल्लेख गरिएको छ ।

जिल्ला अध्यक्ष पन्तसहितका नेताहरुले सुक्रवार बिहान बागमतीमै पुगेर पार्टीको झण्डा ओढाई कुशवारप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।