हरिवन स्थित मजमाविका १०३ जना छात्राले साईकल पाए

वितरण गरिएको साईकल सहित छात्राहरु ।

हरिवन – सर्लाहीको हरिवन नगरपालिका वडा नं. ८ स्थित महादेव जनता नमूना माध्यमिक विद्यालयका छात्राहरुलाई बुधबार साइकल वितरण गरिएको छ ।

कक्षा ८ मा अध्ययनरत १०३ जना छात्रालाई साइकल वितरण गरिएको विद्यालयका प्रधानाध्यापक जयशंकर सिंहले जानकारी दिए । प्रधानाध्यापक सिंहका अनुसार प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत प्राप्त साईकल छात्राहरुलाई वितरण गरिएको हो ।

विद्यालय परिसरमा आयोजित साईकल वितरण कार्यक्रममा हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर रेणुका पौडेल, वडा नम्बर ८ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष यज्ञविनोद ढुंगेल, मावि तहका संयोजक एवं शिक्षक गिरिराज राना, शिक्षकहरु माधव सरकार, गीता घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

यसैबीच हरिवन नगरपालिकाको वडा नं. ८ ले वडा भित्र रहेका ११ जना महिला स्वयंसेविकाहरुलाई साईकल प्रदान गरेको छ । सेवा प्रवाहमा स्वयंसेविकाहरुलाई सहज होस् भनेर साईकल प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । मेयर गणेश प्रसाईको प्रमुख आतिथ्यता एवं उपमेयर रेणुका पौडेलको विशिष्ट आतिथ्यतामा साईकल वितरण कार्यक्रम सम्पन्न भएको थियो ।