चन्द्रनिगाहपुर सवस्टेशन मर्मतका लागि सर्लाही जिल्लाभरको बत्ती काटियो

5
सांकेतिक तस्बीर ।

लालबन्दी – चन्द्रनिगाहपुर सवस्टेशनमा मर्मतको काम गर्न सर्लाही जिल्लाभरको बत्ती काटिएको छ ।

प्राधिकरणले बिहान ६ बजेबाट बत्ती काट्ने तयारी गरेपनि कोपा अमेरिका फुटबलमा ब्राजिल र अर्जेन्टिनाबीचको फाइनल खेल बिहानीपख आयोजना गरिएकाले त्यसबेला बत्ती काट्दा चर्को विरोध हुन सक्ने भन्दै बिहान ८ बजेपछि बत्ती काटिएको हो ।

समयमै मर्मतको काम सकिएमा १० बजेपछि बत्ती छाडिने तर मर्मतमा समय लागेको खण्डमा केहीबेर ढिला पनि हुन सक्ने नेपाल विद्युत् प्राधिकरण बरहथवा वितरण केन्द्रका प्रमुख जयानन्द झाले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए ।

केही दिनअघि पनि चन्द्रनिगाहपुर सवस्टेशनको मर्मतका लागि सर्लाही जिल्लाभर बत्ती काटिएको थियो । त्यसबेला बिहान ७ बजेदेखि ९ बजेसम्म विद्युत् अवरुद्ध हुने भनिएकोमा मर्मतको काम गर्दागर्दै समय लागेकाले डेढ घण्टा ढिलो गरी अर्थात् बिहान साँढे १० बजेसम्म मात्रै बत्ती छाडिएको थियो ।

चन्द्रनिगाहपुर सवस्टेशन मर्मत गरिँदा सर्लाहीसहित रौतहट र बारा जिल्लामा पनि विभिन्न भागमा बत्ती काटिने छ । सर्लाहीमा सवस्टेशन तयार नभएकाले लामो जंगल छिचोल्दै चन्द्रनिगाहपुरबाट बत्ती ल्याउनु परिरहेको छ ।

अहिले नवलपुरमा बनिरहेको सवस्टेशनको काम पूरा भएपछि भने यहीँबाट बत्ती जोडिने लालबन्दी वितरण केन्द्रका प्राविधिक मोहन श्रेष्ठले उज्यालोकर्मी खत्रीसँग बताए ।