सर्लाहीका विभिन्न पालिकामा शिक्षकहरुको धर्ना

कविलासी नगरपालिका कार्यालयमा धर्नामा बसेका शिक्षकहरु । (तस्बीर : उज्यालो अभियान)

कविलासी – सर्लाहीका शिक्षकहरुले सुक्रवार आ-आफ्नो पालिकामा धर्ना दिएका छन् ।

गत जेठ १५ गते नेपाल सरकारले सार्वजनिक गरेको बजेटमा शिक्षकहरुको तलब सुविधा बढाएको तर थप भएका सेवा सुविधा नगरपालिकाले बेहोर्नुपर्ने भनिएको थियो । जसमा सरकारले बढाएको तलव सुविधामा ८ हजार सरकारले उपलब्ध गराउने भएपछि ७ हजार नगरले उपलब्ध गराउनुपर्ने माग गरिएको छ ।

पालिकाहरुले ती रकम उपलब्ध गराउन आनाकानी गरेपछि शिक्षकहरुले आ-आफ्नो पालिकामा धर्ना दिएका हुन् । नेपाल शिक्षक महासंघले तय गरेको राष्ट्रव्यापी कार्यक्रम अनुसार सर्लाहीका शिक्षकहरु पनि धर्नामा बसेका हुन् ।

शिक्षकहरुले यसअघि असार १५ गते पनि नगरपालिका तथा गाउँपालिकाहरुमा धर्ना दिएका थिए । आन्दोलनमा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, बाल विकासमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीहरु सहभागी भएका कविलासी नगरपालिकाका एक जना प्रधानाध्यापक भाग्यनारायण मिश्रले जानकारी दिए ।