बैंकिङ्ग कसुरको आरोपमा ठाकुर पक्राउ

मलंगवा – ईन्फिनिटी लघुवित्त संस्था लिमिटेडको कार्यालय मलंगवा सर्लाहीमा तत्कालिन कार्यरत रहेका एक युवालाई ग्राहकको नाममा लाखौं रकम ऋणको रुपमा निकाली हिनामिना गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–१० निवासी ३२ वर्षीय रमिशन ठाकुर लगायतले किर्ते ग्राहक, तमसुक र रसिद खडा गरी झुठ्ठा ग्राहकहरुको नाम थर उल्लेख गरी ऋण प्रवाह गर्ने क्रियाकलाप गरी चुक्ता भई सकेका ६८ जना ग्राहकहरुको नाममा रकम निकालेर बैकिङ्ग कसुर सम्बन्धी हिनामिना गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त लघुवित संस्थाको नाउँमा रहेको ४७ लाख ९१ हजार ३९८ रुपैंया ६ पैसा हिनामिना गरी बैकिङ्ग सम्बन्धी कसूर गरेको भन्दै सोही लघुवित संस्थामा कार्यरत शाखा प्रमुख अरुण कुमार यादवले दिएको जाहेरी दरखास्तका आधारमा ठाकुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए ।

शुक्रबार उच्च अदालत जनकपुरबाट बैकिङ्ग कसूर तथा सजाय ऐन २०६४ बमोजिम म्याद लिएर ठाकुर विरुद्ध अनुसन्धान अगाडी बढाईएको प्रहरीले जनाएको छ ।