बागमतीमा ११६ वर्षीया वृद्धाको निधन

स्व. पुण्यशिला सिग्देल ।

बागमती – बागमती नगरपालिका निवासी ११६ वर्षीया वृद्धाको निधन भएको छ ।

वडा नं. १ मिलनचोक निवासी शंकर सिग्देलकी आमा ११६ वर्षीया पुण्यशिला सिग्देलको आज(शनिबार) बिहान आफ्नै घरमा मृत्यु भएको स्थानीय गोकर्ण रुपाखेतीले जानकारी दिए । पुण्यशिला सिग्देल सम्भवत प्रदेश दुईकै ज्येष्ठ नागरिक भएको रुपाखेतीले दाबी गरे । वि.सं. १९६२ सालमा जन्मिएकी स्व. सिग्देलका १ छोरा र ३ छोरी सहित नाति नातिना एवं पनाति पनातिना रहेका छन् ।

नेपाली कांग्रेसका कार्यकर्ता शंकर सिग्देल परिवार सहित सबैभन्दा ज्येष्ठ नागरिकको मृत्यु हुँदा गाउँ नै शोकमग्न बनेको रुपाखेतीले जानकारी दिए । नेपाली कांग्रेस बागमती नगर सभापति दिपक रानाभाटले स्वर्गीय आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन् । स्व. सिग्देलको अहिले दिउँसो ३ बजे बागमती नदी किनारमा दाहसंस्कार गरिने रुपाखेतीले जानकारी दिए ।